दाङमा यात्रुलाई बासी खाना खुवाउने होटेललाई २५ हजार जरिवाना

शनिबार, ९ साउन, २०८३
डिजिटल संस्करण

यात्रुलाई बासी खाना खुवाउने दाङको एक होटेललाई जरिवाना गरिएको छ। पूर्व–पश्चिम राजमार्गअन्तर्गत राप्ती गाउँपालिका वडा नं. ३ मसुरियास्थित पूर्व–पश्चिम हाइवे होटेललाई २५ हजार रुपैयाँ जरिवाना गरिएको हो।

फ्रिजमा अस्वस्थकर, बासी खाना भण्डारण गरेको, पकाएर बनाइने खानामा कृत्रिम रंग प्रयोग गरेको, भान्साको संरचना उपयुक्त नभएको, मूल्यसूची नटाँसेको,नालीहरूमा फोहोर पानी जमेको, भान्सामा दुर्गन्ध रहेकोजस्ता समस्या देखिएपछि यसरी जरिवाना गरिएको खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय दाङ प्रमुख पदम बरालले बताए।

उक्त हाेटेललाई यसअघि पनि पटक–पटक सुधार गर्न निर्देशन गरिएको भए पनि अटेर गरिएपछि शुक्रबार यसरी जरिवाना गरिएको हो। दाङका सहायक प्रमुख जिल्ला अधिकारी सावित्रा पुनसहितको अनुगमन टोलीले यसरी जरिवाना गरेको हो। तोकिएको जरिवाना एक हप्ताभित्र जिल्ला प्रशासन कार्यालय दाङमा बुझाउनुका साथै कागज-पत्रसमेत ल्याउन निर्देशन दिइएको छ।

त्योसँगै अन्य ८ वटा होटेलहरूको समेत टोलीले अनगुमन गरेको थियो। 

सुझावित समाचार