उपचारका लागि सिराहाको भगवानपुर गाउँपालिका- ४ स्थित प्राथमिक स्वास्थ्य केन्द्र आएकी आमासँगै आएका करिब चारवर्षीय नाबालकको सर्पदंशको कारणले मृत्यु भएपछि उपचारमा लापरबाही गरिएको भन्दै स्थानीय आन्दोलित भएका छन्। सर्पदंशका बिरामी नाबालकको उपचारमा ढिलाइ र समयमै एम्बुलेन्स उपलब्ध नगराइएको भन्दै आक्रोशित स्थानीय बासिन्दाले स्वास्थ्य केन्द्रमा तोडफोड गर्नुका साथै पूर्व-पश्चिम हुलाकी सडकको भगवानपुर खण्डमा टायर बालेर अवरुद्ध गरेका छन्।
भगवानपुर १ का अरुण मण्डलका छोरा करिब रोशन मण्डललाई स्वास्थ्य केन्द्रपरिसरमै सर्पले डसेको भए पनि थप उपचारका लागि समयमै रेफर गर्न एम्बुलेन्स उपलब्ध नहुँदा नाबालकको मृत्यु भएको स्थानीयको आरोप छ। स्थानीयले स्वास्थ्य केन्द्र तोडफोडसँगै हुलाकी सडक अवरुद्ध गरेपछि शनिबार दिउँसो करिब साढे १ बजेदेखि गाउँपालिकाका प्रतिनिधि र पीडित परिवार र स्थानीय अगुवाहरूबिच छलफल भइरहेको इलाका प्रहरी कार्यालय लहानले जनाएको छ। प्रहरीका अनुसार भगवानपुर- ४, कल्याणपुरस्थित माइतीघर आएकी आमा आफ्नो उपचारका लागि स्वास्थ्य केन्द्रमा गएपछि नाबालक पनि आमासँगै गएका थिए।
भगवानपुर गाउँपालिकाका पूर्वअध्यक्ष बेचनप्रसाद यादवले आफ्नो ज्यानको सुरक्षाका लागि बिरामी पुग्ने स्वास्थ्य संस्थामै एउटा नाबालकले समयमै उपचार नपाएर ज्यान गुमाउनु दुर्घटना मात्र नभई सम्बन्धित निकायको लापरबाही, कमजोर व्यवस्थापन, सरसफाइको अभाव र सुरक्षा संयन्त्रको गम्भीर असफलता रहेको आरोप लगाए।
‘जनताको करबाट सञ्चालित अस्पतालमा २४ घण्टा आपत्कालीन सेवा सञ्चालन भइरहेको दाबी गरिन्छ। तर, अस्पतालपरिसर नै विषालु सर्पको जोखिमबाट सुरक्षित छैन भने सेवा र व्यवस्थापनको औचित्यबारे जनताले प्रश्न उठाउनु स्वाभाविक हो,’ उनले भने, ‘यस्तो दुःखद घटनापछि मौनता होइन, जवाफदेहिता आवश्यक छ।’