- म्यानमारको एक कारागारमा रहेकी प्रजातन्त्रवादी नेतृ सुकी सन् २०२२ यता सार्वजनिक रूपमा देखिएकी छैनन्
ताइचितो (कुकुर) आङ सान सुकी जता जान्थिन्, त्यतै देखिन्थ्यो । तर, पाँच वर्षअघि सैन्य शासकले सरकार अपदस्थ गरेपछि सुकीसँगै जेल जान ताइचितोले अनुमति पाएन । गत महिना १५ वर्षको उमेरमा यांगुन (यसअघिको राजधानी सहर) स्थित उनको घरमै ती लत्रिएका कान भएको मिश्रित जातको कुकुरको मृत्यु भयो । मृत्युको अन्तिम घडीसम्म पनि सुकी फर्किने प्रतीक्षामा ऊ थियो । सन् २०१० मा उनी जेलबाट रिहा हुँदा उनका छोरा किम एरिसले उनलाई उपहारस्वरूप त्यो कुकुर दिएका थिए । लन्डनमा एक पत्रिकालाई दिइएको अन्तर्वार्तामा एरिस भन्छन्, ‘मलाई लाग्छ, मैले आमालाई दिएको सबैभन्दा राम्रो उपहार त्यही थियो । ताइचितो उनीप्रति निकै बफादार थियो ।’
तर, एरिसलाई अहिले अझ ठुलो चिन्ताले गाँजेको छ, उनकी वृद्ध आमा बेपत्ता छिन् । उनी हालैका महिनामा विश्वभर भ्रमण गर्दै म्यानमारको सैन्य सरकारसँग ‘उनी जीवित हुनुको प्रमाण’ उपलब्ध गराउन माग गर्न विभिन्न देशका राष्ट्रपति र मन्त्रीलाई आग्रह गरिरहेका छन् । हाल ८१ वर्ष पुगिसकेकी सुकीको अन्तिमपटक सार्वजनिक उपस्थिति सन् २०२२ को अन्त्यतिर उनीमाथि चलाइएको देखावटी मुद्दाको सुनुवाइ सकिँदा भएको थियो । त्यसयता, सेनाले उनका वकिललाई सुकीसँग भेटका लागि गरेको अनुरोध अस्वीकार गर्दै आएको छ । द्वन्द्वग्रस्त म्यानमारको कारागार प्रणालीभित्र उनलाई देखिएको भन्ने खबरहरू वेला–वेलामा बाहिर आउने गरे पनि त्यसको पुष्टि गर्न भने असम्भव छ ।
सैन्य सरकारले अप्रिल महिनामा सुकीलाई नजरबन्दमा सारिएको दाबी गरेको थियो । तर, सेनाले भेट्न चाहने कूटनीतिज्ञका बारम्बारका अनुरोधलाई भने अस्वीकार गर्दै आएको छ । कूटनीतिज्ञले उनको अवस्थाबारे सोधपुछ गर्दा शासकपक्षीय अधिकारीले उनी स्वस्थ रहेको बताए पनि अन्य जानकारी भने दिँदैनन् । उनलाई नजरबन्दमा सारिएको भनिएको समयमा सार्वजनिक भएको एउटा तस्बिरमा उनी एउटा अज्ञात भवनभित्र प्रहरी र सेनाका अधिकारीसँग कुराकानी गरिरहेको देखिएकी थिइन् । यद्यपि, उक्त तस्बिर हालैको हो भन्ने कुनै छनक छैन र एरिसले यसको प्रमाणिकतामाथि शंका व्यक्त गरेका छन् । उनको भनाइ छ कि यदि सुकी वास्तवमै नजरबन्दमा छिन् भने पनि उनी यांगुनस्थित आफ्नै घरमा छैनन् । साथै, नयाँ राजधानी नेपिदावमा रहेको उनको घर भत्काइएको छ ।
उनीविरुद्ध सत्तापलटको नेतृत्व गर्ने वरिष्ठ जनरल मिन आङ ह्लाइङले मार्च महिनामा आफूलाई राष्ट्रपति घोषणा गरेका थिए । हालैका दिनमा उनीसँग कम्तीमा दुईपटक सुकीबारे जिज्ञासा राखिएको छ । गत महिना दिल्लीमा भएको वार्ताका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सुकीबारे प्रसंग उठाएका थिए । साथै, मे महिनामा म्यानमारका लागि संयुक्त राष्ट्र संघकी विशेष दूत जुली बिसपले जनरलसँगको भेटका क्रममा सुकीलाई भेट्ने इच्छा व्यक्त गरेकी थिइन् । ती वार्ताबारे जानकारी राख्ने कूटनीतिज्ञका अनुसार सुकीको नाम लिँदा उनी आक्रोशित मुद्रामा प्रस्तुत भएका थिए ।
सत्तापलट गर्ने नेताको प्रतिक्रियाले उनी जीवित रहेको प्रमाणमा आशंका देखिएको सरोकारवाला बताउँछन् । किनभने, उनी या त मरिसकेकी छिन् वा खराब अवस्थामा छिन् । ‘त्यो कुरा लुकाएर राख्नु असम्भव हुनेछ,’ लन्डनको थिंकट्यांक इन्टरनेसनल इन्स्टिच्युट फर स्ट्राटेजिक स्टडिजका म्यानमार विज्ञ मोर्गन माइकल्स भन्छन् ।
दक्षिणपूर्वी एसियाली राष्ट्र संघ (आसियान) का अन्य सदस्य देशका विदेशमन्त्रीहरूले जुलाई १२ मा बैंककमा भएको बैठकमा पनि सुकीबारे बारम्बार कुरा उठाए । उनी सरकारमा रहँदाको असफलता, रोहिंग्या जातीय समूहविरुद्ध सेनाको हिंसाको निन्दा गर्न अस्वीकार गर्नेजस्ता कारणले गर्दा उनको उद्देश्यप्रति अन्तर्राष्ट्रिय समर्थन कम छ, तर चासो पूर्ण रूपमा बन्द भएको छैन । सैन्य सरकार आसियानमा पूर्ण रूपमा पुनः सामेल हुन चाहन्छ । ‘कु’पछि म्यानमारलाई आसियानले उच्चस्तरीय बैठकबाट निलम्बन गरेको थियो । जनरलहरू पनि संयुक्त राष्ट्र संघमा आफ्नो स्थान चाहन्छन् । ‘कु’पछि न्युयोर्कमा म्यानमारको प्रतिनिधित्व अपदस्थ नागरिक सरकारको प्रतिनिधिले गर्दै आएका छन् । कूटनीतिज्ञहरू भन्छन् कि सुकीलाई रिहा गर्नाले वा उनीहरूलाई उनीसम्म पहुँच दिनाले दुवै संस्थामा सम्बन्ध सुचारु गर्न मद्दत गर्नेछ ।
उनको अवस्था सार्वजनिक गर्दा म्यानमारभित्र अनुमान गरेभन्दा कम परिणाम देखिनेछन् । नोबेल शान्ति पुरस्कार विजेता सुकी अहिंसात्मक प्रतिरोधको निरन्तर वकालत गर्दै आएकी छिन् । विद्रोहपछि जातीय अल्पसंख्यकको प्रतिनिधित्व गर्ने सशस्त्र समूहको राष्ट्रव्यापी अभियान सैन्य शासनलाई चुनौती दिन थालेको छ र पहिलोपटक बर्मेली जातीय बहुसंख्यक क्रान्तिकारीसँग सेनामा सामेल भएको छ । तर, राष्ट्रवादी सुकीप्रति अल्पसंख्यक सशस्त्र समूहको खासै समर्थन छैन ।
माइकल्सका अनुसार सशस्त्र समूहहरू सशस्त्र विद्रोहभन्दा पनि सन् १९८८ देखि सुकीले वकालत गर्दै आएको अहिंसात्मक आन्दोलनप्रति बढी चिन्तित छन् । उनी भन्छन्, ‘यस्ता आन्दोलनले हिंस्रक प्रतिरोधभन्दा ठुलो खतरा निम्त्याउनेछन् ।’ बहुसंख्यक बर्मेली समुदायका धेरै सदस्यमाझ उनको प्रभाव निकै बलियो छ । उनीहरू आफ्नो निष्ठा प्रदर्शन गर्न व्यक्तिगत जोखिम मोल्न पनि पछि पर्दैनन् । १९ जुनमा परेको उनको ८१औँ जन्मदिनका अवसरमा समर्थकले गोप्य वा संयमित ढंगले कार्यक्रम आयोजना गरे । प्रहरीले उनको पार्टी ‘नेसनल लिग फर डेमोक्रेसी’का एक सदस्यलाई पक्राउ गर्यो । पक्राउ परेका व्यक्तिले सुकीको तर्फबाट बौद्ध भिक्षुहरूलाई दान दिएका थिए ।
सुकीको दुर्दशामा कूटनीतिक ध्यानले म्यानमारका पाँच करोड ५० लाख मानिसको अवस्थालाई छायामा पार्ने जोखिम छ, जो जुन्टा शासनअन्तर्गत पीडित छन् । एक वकालत समूह हेल्पिङ अर्गनाइजेसन फर पोलिटिकल प्रिजनर्स (एएपिपी)को तथ्यांकअनुसार उनी म्यानमारको सैन्य सरकारले अझै पनि थुनामा राखेको पुष्टि गरेका १४ हजार पाँच सय १७ राजनीतिक बन्दीमध्ये एक हुन् । कारागारमा चिकित्सा सेवा कमजोर छ र गर्मी मौसममा वातानुकूलित कक्ष उपलब्ध छैन । सुकीले वातानुकूलित कक्ष अस्वीकार गरेको रिपोर्ट गरिएको छ, किनभने अन्य कैदी यसको हकदार छैनन् । यस वर्ष मात्र हिरासतमा ६० भन्दा बढी राजनीतिक बन्दीको मृत्यु भएको एएपिपीले पुष्टि गरेको छ ।
(सुकीबारे प्रकाशित आलेखलाई सुभाष शर्माले अनुवाद गरेका हुन् ।)