जुम्लाको सदरमुकाम खलंगास्थित राजासिममा कृषि, पर्यटन, व्यापार तथा सांस्कृतिक महोत्सव हुने भएको छ। राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान जुम्लाको आयोजनामा भदौ ७–१६ गतेसम्म दोस्रो बृहत् महोत्सव हुने भएको हो। भदौ महिना यहाँको उत्पादन स्याउ बजारीकरण गर्ने समय पनि हो । यो महोत्सवले स्याउ बजारीकरणमा पनि टेवा पुग्ने अपेक्षा गरिएको छ।
यहाँको कृषि उत्पादन, पर्यटन, व्यापार तथा मौलिक कला–संस्कृतिको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले बृहत् महोत्सवको आयोजना गर्न थालिएको राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान जुम्लाका अध्यक्ष विश्वराज खत्रीले बताए । उनले भने, राष्ट्रिय तथा स्थानीय कलाकारहरूको सांगीतिक प्रस्तुति, कृषि तथा व्यापार प्रदर्शनी, स्थानीय उत्पादनको बिक्री–प्रदर्शनी र विविध सांस्कृतिक कार्यक्रम समावेश गरिनेछ ।
प्रतिष्ठानका अध्यक्ष खत्रीका अनुसार यस वर्ष महोत्सवको व्यवस्थापनलाई थप प्रभावकारी बनाउने, दर्शकको सुविधालाई प्राथमिकतामा राख्ने तथा अघिल्ला संस्करणमा देखिएका कमजोरीलाई सुधार गर्दै महोत्वस सञ्चालन गर्नेछौँ । महोत्सवमा प्रवेश शुल्क प्रतिव्यक्ति एक–डेढ सय रुपैयाँदेखि बढी हुनेछैन ।
प्रतिष्ठानका निवर्तमान अध्यक्ष कर्ण बुढ्थापाले भने, ‘अघिल्लो महोत्सवबाट प्राप्त सुझाव र अनुभवलाई मनन गर्दै यसपटक व्यवस्थापनलाई थप सुदृढ बनाउनेछौँ । प्रचारमा समावेश गरिएका सबै कलाकारलाई मञ्चमा प्रस्तुत गर्नेछौँ ।’