जब सांसदलाई एक हुल मान्छेले अँगालो हालेर ढाडमा कालोमसी दले...

शुक्रबार, ८ साउन, २०८३
डिजिटल संस्करण

रौतहट निर्वाचन क्षेत्र नम्बर ४ का प्रतिनिधिसभा सदस्य गणेश पौडेलमाथि सार्वजनिक कार्यक्रमबाट फर्किने क्रममा कालोमसी दलेर दुर्व्यवहार गरिएको छ। गढीमाई नगरपालिका– ७ पर्सामा आयोजित ‘जनतासँग भेटघाट कार्यक्रम’ सकेर फर्किरहेका वेला बिहीबार राति मास्क लगाएका दुई–तीनजनाको समूह सांसद पौडेलमाथि कालोमसी दलेर फरार भएको हो।

घटनाले जिल्लाको राजनीतिक वृत्तमा तरंग पैदा गरेको छ। निर्वाचित जनप्रतिनिधिमाथि गरिएको यस्तो व्यवहारलाई लोकतान्त्रिक मर्यादामाथिको आक्रमणका रूपमा हेरिएको छ।

सांसद पौडेलका अनुसार स्थानीय नागरिकका समस्या तथा मलखाद अभावलगायत विषयमा छलफल गर्न आयोजित कार्यक्रम राति करिब ८ बजेदेखि सवा ८ बजेको बिचमा सकिएको थियो। फर्किने तयारीमा रहेका वेला पछाडिबाट आएका व्यक्तिहरूले चिनजानको मान्छेले अँगालो हालेझैँ गरी उनको ढाडमा कालोमसी दलेर भागेका थिए।

पौडेलका अनुसार आक्रमणकारीहरू हातमा रातो झन्डा र पर्चा बोकेका थिए। उनीहरूले आफूलाई ‘मधेश मुक्ति अभियान’सँग आबद्ध समूह भएको संकेत दिएको उनले दाबी गरेका छन्। घटनापछि कार्यक्रममा सहभागी स्थानीय र समर्थकहरूले उनीहरूलाई लखेट्ने प्रयास गरे पनि अँध्यारोको फाइदा उठाउँदै उनीहरू भाग्न सफल भएका थिए।

घटनाबारे तत्काल प्रहरीलाई जानकारी गराइएको र अनुसन्धान तीव्र बनाइएको सांसद पौडेलले बताएका छन्।

सुझावित समाचार