आर्थिक वर्ष ०८२/८३ मा नेपालको सबैभन्दा ठुलो निर्यात वस्तु प्रशोधित सोयाबिन तेल बनेको छ । कुल निर्यातको करिब ४१ प्रतिशत हिस्सा सोयाबिन तेलले ओगटेको छ । एक खर्ब २८ अर्ब ७४ करोड रुपैयाँबराबरको प्रशोधित सोयाबिन तेल भारत निर्यात भएको छ । एक वर्षमा नेपालबाट ५९ करोड ३८ लाख किलोभन्दा बढी सोयाबिन तेल भारत गएको छ ।
दोस्रो ठुलो निर्यात वस्तु ठुलो अलैँची छ । १२ अर्ब ६४ करोड रुपैयाँबराबरको अलैँची निर्यात भएको छ । त्यसपछि प्रशोधित सूर्यमुखी तेल आठ अर्ब ९४ करोड रुपैयाँ, जुटका कपडा सात अर्ब १४ करोड रुपैयाँ र ऊनका गलैँचा ६ अर्ब ७३ करोड रुपैयाँबराबर निर्यात भएका छन् । नेपाली गलैँचाको प्रमुख बजार अमेरिका रहेको छ । नेपालले प्रशोधित पाम तेल ६ अर्ब ६७ करोड रुपैयाँ, पोलिस्टर धागो पाँच अर्ब ४० करोड रुपैयाँ, जुस चार अर्ब ७४ करोड रुपैयाँ, अर्को प्रकारको पोलिस्टर धागो चार अर्ब ५० करोड रुपैयाँबराबर निर्यात गरेको छ । कुकुर र बिरालोको खाना चार अर्ब १९ करोड रुपैयाँबराबर निर्यात भएको छ ।