कास्की प्रहरीको अपरेसन ३६५ अभियान : स्वरूप परिवर्तन गरी ध्वनि प्रदूषण गर्ने १८ मोटरसाइकल नियन्त्रणमा

बिहिबार, ७ साउन, २०८३
डिजिटल संस्करण

कास्की प्रहरीले सञ्चालन गरेको अपरेसन ३६५ अभियानअन्तर्गत थप १८ वटा मोटरसाइकल नियन्त्रणमा लिएको जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय कास्की तथा मातहतसमेतबाट सञ्चालन भइरहेको अभियानअन्तर्गत बुधबार रातिको समयमा पोखराका विभिन्न स्थानहरूमा सवारी चेकजाँचका क्रममा स्वरूप परिवर्तन गरी ध्वनि प्रदूषण गरेका ती मोटरसाइकलहरू नियन्त्रणमा लिएको सूचना अधिकारी प्रहरी नायब उपरीक्षक वीरेन्द्रकुमार पासवानले जानकारी दिए ।

पासवानका अनुसार वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरी टोलीले लेकसाइड, ड्यामसाइड, बिरौटा, छोरेपाटन क्षेत्रबाट ११ र वडा प्रहरी कार्यालय बगरबाट खटिएको प्रहरी टोलीले बागलुङ बसपार्क, हरिचोक क्षेत्रबाट सात मोटरसाइकल नियन्त्रणमा लिएको हो । प्रहरीले नियन्त्रणमा लिएका ती मोटरसाइकललाई आवश्यक कारबाही प्रक्रिया अगाडि बढाइएको जनाएको छ ।

१० महिनादेखि जारी अभियानअन्तर्गत हालसम्म ७४० वटा सवारीसाधन र ३६ जना मानिस नियन्त्रणमा लिई आवश्यक कारबाही गरिएको कास्की प्रहरीले जनाएको छ ।

सुझावित समाचार