बाँदरआतंक नियन्त्रणका लागि बाँदर हेरालु नियुक्त गरिने

बिहिबार, ७ साउन, २०८३
डिजिटल संस्करण

 बाँदरआतंकबाट कृषकको बाली दिनप्रतिदिन क्षति हुँदै गएपछि बाँदर हेरालु नियुक्तको तयारी थालिएको छ । बाँदरको बढ्दो आतंकबाट कृषकको बाली जोगाउन डिभिजन वन कार्यालय अर्घाखाँचीले २० जना बाँदर हेरालु नियुक्त गर्न दरखास्त आह्वान गरेको छ ।

कार्यालयका सूचना अधिकारी केशव खड्काका अनुसार मंगलबार सूचना जारी गर्दै दरखास्त आह्वान गरिएको हो । जिल्लाका बाँदरबाट अति प्रभावित २६ क्षेत्रमा कृषि बालीको संरक्षण तथा बाँदर व्यवस्थापनका लागि वन व्यवस्थापनमा आधारित सामुदायिक सहभागितामार्फत बाँदर हेरालु नियुक्त गर्न लागिएको उनले बताए । इच्छुक तथा योग्य स्थानीय नागरिकलाई सूचना प्रकाशित भएको मितिले तीन दिनभित्र कार्यालय समयभित्र निवेदन दिन आग्रह गरिएको छ । 

सूचना अनुसार नियुक्त गरिने बाँदर हेरालुको कार्यअवधि०८३ साउन १० गतेदेखि असोज १० गतेसम्म दुई महिनाको रहनेछ । नियुक्त भएका हेरालुले बाँदरको नियमित निगरानी गर्ने, कृषकलाई समयमै सूचना दिने, सम्बन्धित निकायसँग आवश्यक समन्वय गर्ने तथा बाँदरबाट भएको बाली क्षतिको अभिलेख राखी वडा र कार्यालयलाई जानकारी गराउने जिम्मेवारी पाउनेछन् । साथै, बाँदरलाई मानवीय र वातावरणमैत्री तरिकाले खेतीयोग्य क्षेत्रबाट प्राकृतिक वासस्थानतर्फ फर्काउने काम पनि उनीहरूले गर्नुपर्नेछ ।

नियुक्तिका लागि सम्बन्धित बाँदर प्रभावित क्षेत्रको स्थायी बासिन्दा, ४५ वर्ष ननाघेको तथा वन, वन्यजन्तु र जैविक विविधता संरक्षणमा रुचि भएको व्यक्ति हुनुपर्ने कार्यालयले जनाएको छ । सामुदायिक वन, वन हेरालु, नर्सरी हेरालु, नाइके हेरालु वा यस्तै प्रकृतिको काममा अनुभव भएकालाई प्राथमिकता दिइने उल्लेख गरिएको छ। दरखास्तसँग निवेदन, अनुभव खुल्ने प्रमाणपत्र (भएमा) तथा विगतमा बाँदरबाट भएको बाली क्षतिको विवरणसहित सम्बन्धित वडाको सिफारिस पेस गर्नुपर्नेछ ।

डिभिजन वन कार्यालयका अनुसार प्रभावित क्षेत्रबाट प्राप्त आवेदनको मूल्यांकन गरी आवश्यक स्थानमा हेरालु खटाइनेछ । नियुक्त हुने बाँदर हेरालुले मासिक पारिश्रमिक रु. १२ हजार ५०० तोकिएको छ । कार्यालयले बाँदरका कारण किसानले बर्सेनि व्यहोर्दै आएको बाली क्षति न्यूनीकरण गर्न स्थानीय समुदायको सक्रिय सहभागितासहित यो कार्यक्रम सञ्चालन गर्न लागिएको जनाएको छ ।

पारिश्रमिक सामुदायिक वनको कोषबाट

डिभिजन वन कार्यालय अर्घाखाँचीका सूचना अधिकारी खड्काका अनुसार हेरालुको पारिश्रमिक सामुदायिक वनको कोषबाट उपलब्ध हुने गरी हेरालु नियुक्त गर्न लागिएको छ । जिल्लामा बाँदरका कारण कृषि बाली जोगाउन किसानहरूलाई निकै गाह्रो भएको अवस्थामा अति प्रभावित क्षेत्रमा हेरालु नियुक्त गर्न थालिएको हो ।

जिल्लाको सन्धिखर्क, पाणिनी, भूमिकास्थान, मालारानीलगायत सबैजसो पालिका तथा वडाहरूमा बाँदरआतंक रहेको छ । यतिवेला मकैबालीसहित खाद्य बाली जोगाउन किसान बिहानैदेखि खेतबारीमा खटिनुपरेको अवस्थामा  हेरालु नियुक्ति थालिएको छ । 

सामुदायिक वनसँगको समन्वयमा काम अगाडि बढाइएको डिभिजन वन कार्यालयले जनाएको छ । ‘बढी प्रभावित क्षेत्रलाई लक्षित गरेर हेरालु नियुक्त गर्न खोजिएको छ । आवेदन प्राप्तपछि सम्बन्धित वडाको सिफारिसका आधारमा हेरालुहरू खटाइने तयारी गरिएको छ,’ खड्काले भने । 

सूचना अधिकारी खड्काले यस किसिमको अभ्यास नेपालमै पहिलोपटक अर्घाखाँचीमा भएको दाबी गरे । उनले अर्घाखाँचीमा गत वर्ष यस किसिमको अभ्यास गरिएको र त्यसको प्रभाव सकारात्मक परेको अनुभवका आधारमा यसपटक पनि हेरालु नियुक्तिको प्रक्रिया अगाडि बढाइएको बताए । गत वर्ष अर्घाखाँचीमा १९ जना हेरालु नियुक्त गरिएको थियो । ती १९ जनालाई सन्धिखर्क, भूमिकास्थान, पाणिनी र मालारानीका २० स्थानमा खटाइएको थियो ।

गत वर्षको सिकाइबाट यस वर्ष सम्बन्धित वडा कार्यालयहरूले नै यस किसिमको काम अगाडि बढाउने अपेक्षा गरिए पनि वडा कार्यालयहरूले पहल नगरेपछि वन कार्यालयले अग्रसरता लिएको बताइएको छ ।

सुझावित समाचार