बाराको परवानीपुर गाउँपालिकाले मापदण्डविपरीत जडीबुटी, जीवजन्तु र कबाडी कर संकलन गरिरहेको पाइएको छ। गाउँपालिकाले आफ्नो क्षेत्राधिकारबाहिरका सामग्रीबाट नगर प्रहरीमार्फत जडीबुटी, जीवजन्तु र कबाडी कर संकलन गरिरहेको पाइएको हो।
साउन ७ गते गाउँपालिका कार्यालयअगाडि कलैया उपमहानगरपालिकामा उत्पादन भएको इटा बोकेको ट्र्याक्टरबाट नगर प्रहरीले प्रतिट्र्याक्टर ५० रुपैयाँका दरले रकम उठाएको चालकहरूले बताएका छन्।
यसअघि पटक–पटक इँटा बोकेर राजमार्ग हुँदै आवतजावत गर्दा परवानीपुर गाउँपालिकामा कर तिर्न नपरेको ना. ६०३१ नम्बरका ट्र्याक्टर चालक सुनील साहले बताए। उनका अनुसार गाउँपालिकाका नगर प्रहरीले मुख्य राजमार्गमा ट्र्याक्टरको साँचो खोसेर मापदण्डविपरीत जबर्जस्ती रकम असुली गरेका छन्।
यो गाउँपालिकाभन्दा फरक पालिकामा उत्पादन भएको इँटाबाट मुख्य राजमार्गमा कर संकलन गर्नु सरासर गलत भएको ना.५३६१ नम्बरका ट्र्याक्टर चालक शिवकुमारले गुनासो गरे। उनले आफ्नो क्षेत्राधिकारभन्दा बाहिर गएर नगर प्रहरीले नेपाल प्रहरीभन्दा ठुलो स्वरमा प्रस्तुत हुँदै मुख्य राजमार्गमा सवारी रोकेर रकम संकलन गरेको बताए।
नगर प्रहरीले काटेर दिएको रसिदमा कुन आर्थिक वर्षको रसिद हो, के बापत उक्त रकम असुल गरिएको हो भन्ने पनि उल्लेख नभएको उनले बताए। गाउँपालिकाले चालू आर्थिक वर्ष ०८३/८४ का लागि असार १७ गते जडीबुटी, जीवजन्तु र कबाडी कर संकलन गर्न बोलपत्र आह्वान गरेको थियो।
उक्त बोलपत्रअनुसार मुख्य राजमार्गसहित गाउँपालिकाको क्षेत्राधिकारभित्र रहेका कारखाना तथा उद्योगबाट न्यूनतम ३० लाख एक हजार रुपैयाँमा ठेक्का आह्वान गरिएको थियो।
असारको अन्तिम समयमा खोलिएको बोलपत्रअनुसार जडीबुटी, जीवजन्तु र कबाडी कर संकलनको ठेक्का परवानीपुर गाउँपालिका– ५ स्थित आदित्य ट्रेडर्सले ९२ लाख ४० हजार रुपैयाँमा प्राप्त गरेको गाउँपालिका कार्यालयले जनाएको छ। गाउँपालिकाका एक कर्मचारीका अनुसार ठेक्का प्राप्त कम्पनीले हालसम्म गाउँपालिकासँग सम्झौता नगरेकाले नगर प्रहरीमार्फत कर संकलन भइरहेको अवस्था छ।