जब सरकारी गाडी दुर्घटना गराएर भाग्यो

बिहिबार, ७ साउन, २०८३
डिजिटल संस्करण

गत आइतबार पूर्व–पश्चिम राजमार्गअन्तर्गत मोरङको कानेपोखरी गाउँपालिका– ७ स्थित जंगलमा पैदल यात्रीलाई ठक्कर दिएर एउटा गाडी फरार भयो । ठक्करपछि गम्भीर घाइते भएका पैदल यात्री पथरी–शनिश्चरे १० का ६० वर्षीय गोविन्द लिम्बूको उपचारको क्रममा मृत्यु भयो ।

तर, जंगलमा दुर्घटना भएका कारण प्रहरीले ठक्कर दिएर फरार भएको सवारी पत्ता लगाउन निकै मुस्किल पर्याे  । प्रहरीसँग न त सवारीको नम्बर नै थियो न त दुर्घटनास्थलमा सिसी क्यामेरा नै । प्रहरीसँग क्लुका रूपमा दुर्घटना गराउने सवारीसाधनको केही पार्टस् दुर्घटनास्थलमा रहेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख प्रहरी उपरीक्षक कवित कटुवालले जानकारी दिए । त्यही क्लुका आधारमा अनुसन्धान गर्दै जाँदा उक्त गाडी सरकारी भएको खुलेको छ ।

इलाका प्रहरी कार्यालय पथरीका प्रहरी निरीक्षक डम्बर विश्वकर्माको कमान्डमा खटिएको टोलीले चार दिनसम्म निरन्तर प्रयास गरेपछि सवारीसाधन पत्ता लगाएको मोरङ प्रहरी प्रमुख कटुवालले जानकारी दिए । ‘हिट एन्ड रनको यो घटना गम्भीर थियो । यो पत्ता लगाउन निकै समय पनि लाग्यो,’ उनले भने, ‘हामीसँग क्लुको नाममा गाडीको पार्टस् थियो । प्रहरी निरीक्षक डम्बर विश्वकर्माको कमान्डमा रहेको प्रहरी टिमले निकै मिहिनेत गरेपछि बुधबार राति १० बजे पत्ता लगाउन सफल भएको हो ।’

दुर्घटना गराएर फरार रहेको सवारी सुनसरीको इटहरीस्थित हेवी क्युपमेन्ट सडक विभाग इटहरीको बा.२झ २२२६ नम्बरको रहेको खुलेको छ । प्रहरीका अनुसार दुर्घटना गराएपछि यो गाडी इटहरीस्थित हेवी क्युपमेन्ट सडक विभागको कार्यालयमा लुकाए राखिएको थियो ।

प्रहरीले राजमार्गका बजारको सिसी क्यामेरा विश्लेषण गर्दै त्यहाँ पुग्दा लुकाएर राखेको अवस्थामा फेला पारेको हो । जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार दुर्घटना गराएर फरार रहेका सवारी चालक सिराहा सुखीपुर गाउँपालिका– ८ का ४४ वर्षीय रामउदगार मण्डललाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय पथरीमा राखिएको छ भने दुर्घटना गराएको सवारीलाई पनि पथरी प्रहरीले नियन्त्रणमा लिएको छ । पक्राउ परेका मण्डललाई सवारी ज्यानसम्बन्धी कसुरमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

सुझावित समाचार