हेमराज हत्याकाण्डको १६ वर्षपछि न्याय पाउने आशा

बिहिबार, ७ साउन, २०८३
डिजिटल संस्करण

दाङ तुलसीपुरस्थित सञ्चार उद्यमी देवीप्रसाद धिताल (हेमराज) हत्याकाण्डको १६ वर्षपछि न्याय पाउने आशा गरिएको छ । अहिले केन्द्रीय अनुसन्धान ब्युरोले सूक्ष्म ढंगले अनुसन्धान गरिरहेको भन्ने सूचना पाएपछि परिवारले न्याय पाउने आशा गरेका छन् । ‘छोरो आउनेछैन, छोरोलाई मारिसके, अब हत्यारो छिटो पत्ता लगाएपछि शान्त हुन्थ्यो कि भन्ने छ, हत्यारो छिट्टै पत्ता लागोस्,’ आमा रेवता धितालले भनिन्, ‘अब यो सरकारले गर्छ कि भन्ने ठुलो आशा छ । छोरोको हत्या छिटो पत्ता लगाइदियाेस्, अर्को सालमा पत्ता लाग्यो भन्ने कुरा गर्न पाउँ ।’

त्यस्तै त्रिसिद्धेश्वरी राप्ती यातायात सेवा प्रालिका अध्यक्ष सुरेश हमालले पनि हत्यारा सार्वजनिक भए मात्रै धितालको आत्मले शान्ति पाउने बताए । सधैँ नजिक छ भन्नेबाहेक केही पनि उपलब्धि नभएको अवस्थामा फाइलको अनुसन्धानको प्रक्रिया अघि बढेको भन्ने सूचना प्राप्त भएकाले केही आशा पलाएको उनले बताए ।

बुधबार १६ स्मृति दिवस मनाइरहँदा उनीहरूले यस्तो प्रतिक्रिया दिएका हुन् । प्रहरी स्रोतका अनुसार हाल शंकास्पद व्यक्तिमाथि अनुसन्धान भइरहेको छ । पछिल्लपटक मात्रै धेरै त्यस्ता व्यक्तिको बयान लिइसकेको छ। यसअघि भएका कुनै पनि अनुसन्धानले सार्थकता नपाएपछि व्यापक आलोचना हुने गरेको थियो । 

धितालको ०६७ साउन ६ गते हत्या गरिएको थियो । तत्काीन अवस्थामा कांग्रेस महाधिवेशन प्रतिनिधिका लागि निर्वाचनको चहलपहल थियो । त्यही क्रममा धिताल पनि चुनावी दौडमै थिए । साबिक उरहरी गाविसबाट महाधिवेशन प्रतिनिधिको चुनावमा होमिने तयारी गरेका धितालको हत्या भएको थियो ।

यसरी भएको थियो हत्या

घटना ६ साउन ०६७ मा भएको हो । तत्कालीन अवस्था नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधि निर्वाचनले तातिएको थियो । निर्वाचनकै क्रममा सोही दिन बिहान खाना खाएर धिताल उरहरी गए । आफ्ना कार्यकर्ता कान्ताराम वलीलाई सँगै लिएर मोटरसाइकलमा उरहरी गएका उनले दिनभर आफ्ना कार्यकर्तासँग भेटघाट गरे ।

जब बेलुकी भयो, उनी घर फर्किने तरखरमा थिए । साबिक उरहरी– ४ हाल तुलसीपुर– १२ को हेमनगर जसपुरस्थित राप्ती लोकमार्गको छेउमै रहेको एक स्थानीयको घरमा गफ गरिरहेको अवस्थामा सँगै गएका कान्तरामलाई कतैबाट फोन आयो । त्यो फोनमा कहाँ भनी उनको ‘लोकेसन’ सोधिएको थियो । त्यसपछि हेमराज घरबाट निस्किन खोजे । तर, सुर्ती खाने बहानामा कान्तरामले अलमल्याउन थाले । श्रीमी मन्जु कँडेलका अनुसार हेमराज मोटरसाइकल चढेर स्टार्ट गर्न पनि खोजे । तर,  त्यो मोटरसाइकलको ‘प्लग’ मेत निकालिएको रहेछ, त्यसपछि उनको मोटरसाइकल स्टार्ट भएन । त्यही क्रममा आज्ञात समूह आएर उनीमाथि लखेटी–लखेटी गोली प्रहार भयो ।  गोली प्रहार भएपछि उनलाई उपचारका लागि तत्कालीन राप्ती अञ्चाल अस्पतालमा ल्याउँदा चिकित्सकले मृत घोषणा गरेका थिए ।

गिरीको नेतृत्वमा बनेको थियो अनुसन्धान टोली 

तत्कालीन  अवस्थामा प्रहरीले कान्तरामलगायत व्यक्तिलाई पक्राउ गरी अनुसन्धान पनि गरेको थियो । परिवार किरिया बसिरहेकै अवस्थामा ९० प्रतिशत अनुसन्धान भइरहेको भनी प्रहरीले बताएको थियो । तर, त्यो अनुसन्धानले अहिलेसम्म पनि पूर्णता पाएको छैन । प्रहरी स्रोतका अनुसार त्यो अनुसन्धानको रिपोर्ट नै अलमल्याउने खालको छ । ‘अनुसन्धान नै गन्जागोल जस्तो छ,’ स्रोतले भन्यो । 

धितालको हत्याबारे अनुसन्धान गर्न जिल्ला प्रहरीका तत्कालीन डिएसपी लक्ष्मण गिरीको संयोजकत्वमा एक विशेष अनुसन्धान टोली गठन भएको थियो । पटक–पटक केन्द्रबाट पनि उच्च प्रहरी अधिकारीहरू आएका थिए । तत्काल सिआइबीको टोली पनि घटनास्थल आएको थियो । घटनालगत्तै तत्कालीन एआइजी किरण गौतमको संयोजकत्वमा अनुसन्धान टोली पनि खटाएको थियो । तर, केही प्रगति भएन । घटनाबारेको विस्तृत अनुसन्धान फाइल ब्युरोमा पठाएको र ब्युरोबाटै अनुसन्धान भइरहेको छ । ०७४ माघदेखि केन्द्रीय अनुसन्धान ब्युरोले फाइल लिएर अनुसन्धान गरिरहेको छ ।

धिताल तत्कालीन अवस्थामा रेडियो तुलसीपुर सञ्चालक समितिका अध्यक्ष थिए । यातायात व्यवसायी र निर्माण व्यवसायी पनि थिए भने नेपाली सेनालाई रासन आपूर्तिको काम पनि गर्थे । उनको धेरै ठाउँमा कारोबार भएकाले पनि घटनाको विषयमा अनुसन्धान गर्न कठिनाइ भएको तत्कालीन अवस्थाका अनुसन्धान अधिकृतहरूले बताउने गरेका छन् । 

सुझावित समाचार