कांग्रेस विभाजित भए नेपाल नै नरहने अत्यन्तै जटिल अवस्थामा देश पुगेको भन्दै कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले कांग्रेसलाई सम्पूर्ण रूपमा एकता गर्न गम्भीर बन्न सभापति गगन थापाको ध्यानाकर्षण गराएका छन्।
बिपी स्मृति दिवसका अवसरमा इतरपक्षको प्रज्ञा भवनमा आयोजित भेलालाई सम्बोधन गर्दै खड्काले अहिलेको जटिल अवस्थामा टुक्रे एकता होइन, कांग्रेसलाई सम्पूर्ण रूपमा एकताबद्ध बनाउन सके मात्र देशको अस्तित्व जोगिन सक्ने निष्कर्ष सुनाए।
कांग्रेस साँचो अर्थमा एकताबद्ध भएर मात्र संविधान पक्षधर शक्तिलाई एक ठाउँमा ल्याएर देशको अस्तित्व जोगाउन सकिने भन्दै उनले बिपीको सिद्धान्त, विचार र दृष्टिकोणलाई सही तरिकाले आत्मसात गर्नुपर्नेमा जोड दिए। २०३३ सालमा बिपीले राष्ट्रिय मेलमिलापको नीति लिएर स्वदेश फर्किएको अवस्थामा भन्दा पनि नेपाल अहिले राष्ट्रिय अस्तित्व जोगाउन सक्ने कि नसक्ने चरम वैदेशिक चलखेलको अवस्थामा रहेको खड्काले दोहोर्याए।
‘अहिले नेपाल रहने कि नरहने दोसाँधको अवस्थामा देश पुगेको छ, २०३३ सालमा बिपीले देशको अस्तित्व जोगाउन राष्ट्रिय मेलमिलापको नीति लिएर स्वदेश फर्किदाँको अवस्थामा भन्दा पनि धेरै गम्भीर अवस्थामा हामी पुगेका छौँ। त्यसैले अहिले टुक्रे होइन, कांग्रेसमा सम्पूर्ण एकताको आवश्यकता छ,’ खड्काले भने, ‘त्यसैले हामीले यो संकटलाई गहिरोसँग आत्मसात गरौँ, कांग्रेस एकताबद्ध भए संविधान बनाउनेहरूबिच एकता कायम गरेर बाँकी दलहरूलाई पनि मिलाएर कांग्रेसले देशको अस्तित्व जोगाउन सक्छ।’
इतिहासको जटिल अवस्थालाई सभापति थापाले आत्मसात नगरे भविष्यको पुस्ताले समीक्षा गरेर माफी नदिने चेतावनीसमेत खड्काले दिए। उनले देशको अस्तित्व जोगाउने कुराका लागि एकताको मुख्य जिम्मेवारी सभापतिको काँधमा रहेको कुरा गर्दा पुराना नेताले पद मागेको हल्ला फिँजाएर मानमर्दन गरेको बताए।
‘हामीले देशको अस्तित्व जोगाउन कांग्रेसको एकताको कुरा गर्दा, सभापतिको मुख्य जिम्मेवारी छ भन्दा पुराना नेताले पद माग्यो भनियो, हामीले पद मागेको होइन, पद चाहिँदैन। तर, सग्लो कांग्रेसका लागि सम्पूर्ण एकता हुनुपर्छ,’ उनले भने।
विगतमा तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालाका कारण विभाजन भए पनि उनकै साहसी निर्णयले पार्टी एकता भएर कांग्रेसलाई एकताबद्ध बनाएको भन्दै खड्काले पार्टी नेतृत्व गर्ने व्यक्तिमा देश र सम्पूर्ण रूपले पार्टीको हित हेर्ने फराकिलो सोच र साहसिक निर्णय गर्ने क्षमता हुनुपर्ने प्रस्ट पारे।