६ दिनपछि सेयर बजारमा गिरावट आएको छ। बुधबार नेप्से परिसूचक १३.९५ अंकले घटेर दुई हजार ७१२.५४ विन्दुमा कारोबार बन्द भएको हो। ‘क’ वर्गका कम्पनीको कारोबार मापक सेन्सेटिभ इन्डेक्स पनि २.१० अंकले ओरालो लागेको छ।
मंगलबार ६ अर्ब ६७ करोडभन्दा बढीको सेयर कारोबार भएकोमा बुधबार गिरावट देखिएको छ। आज एक करोड १३ लाख ६२ हजार कित्ता सेयर पाँच अर्ब १८ करोड ७४ लाख रुपैयाँबराबरमा किनबेच भएको हो।
आज वित्त र उत्पादन तथा प्रशोधन समूह एक प्रतिशतभन्दा कमले वृद्धि हुँदा बाँकी ११ वटै समूहको सूचक घटेका छन्। व्यापार र निर्जीवन बिमा समूह क्रमशः २.६० र १.२६ प्रतिशतले घट्दा बाँकी समूहको गिरावट एक प्रतिशतभन्दा कम छ।
बजार घटेको दिन एभरेस्ट कलर र बुंगाल हाइड्रोका लगानीकर्ता सर्वाधिक कमाउने सूचीको शीर्ष स्थानमा छन्। यी कम्पनी क्रमशः १४.९९ र १०.५० प्रतिशतले उकालो लागेका हुन्।
यता एनसिसी डिबेन्चर २०८६ र एनआइबि डिबेन्चर २०८४ सबैभन्दा धेरै घट्ने धितोपत्रमा परेका छन्। यी धितोपत्र क्रमशः सात र पाँच प्रतिशतभन्दा धेरैले घटेका हुन्।
कारोबार रकम र सेयर संख्याका आधारमा रिदी पावर कम्पनी शीर्ष स्थानमा छ। यो कम्पनीको ११ लाख सात हजार कित्ता सेयर ४२ करोड ३० लाख रुपैयाँबराबरमा खरिद–बिक्री भएको हो।