सुर्खेतको गुर्भाकोट नगरपालिका– १३, सेराघारीस्थित सडकखण्डमा फोर्स गाडी दुर्घटना हुँदा १९ जना घाइते भएका छन्। तीमध्ये तीनजनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।
सिम्ताबाट गुमीतर्फ आउँदै गरेको क.प्र. ०२००१ ख ०४९० नम्बरको गाडी आफैँ अनियन्त्रित भई सडकमै पल्टिएको हो। सेराघारी बस्ने अन्दाजी ४३ वर्षीय गगन थापाले चलाएको उक्त गाडीमा चालकसहित २० जना सवार थिए। दुर्घटनामा चालकबाहेक १९ जना घाइते भएका हुन्।
घाइतेहरूको उद्धार गरी विभिन्न अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। तीमध्ये तीनजनाको अवस्था गम्भीर रहेको छ। दुर्घटनाग्रस्त गाडी घटनास्थलमै छ भने चालकलाई प्रहरीले नियन्त्रणमा लिएर दुर्घटनाबारे थप अनुसन्धान थालेको छ।