दियालो टेक्नोलोजिजले जलस्रोत, माटो र वातावरणीय संरक्षणका लागि अत्याधुनिक जेन–४ नानो–बायो प्रविधि नेपालमा भित्र्याएको छ । नेपालको सफ्टवेयर तथा डिजिटल प्रविधि क्षेत्रमा काम गर्दै आएको कम्पनीले भारतको बायोरिजेन बायोसाइन्सेज प्रालिसँगको साझेदारीमा यो प्रविधि नेपाल भित्र्याएको हो ।
कम्पनीका अनुसार यो प्रविधि भित्रिएसँगै नेपालमा पहिलोपटक जलाशय पुनर्जीवन, औद्योगिक फोहोर पानी व्यवस्थापन तथा माटो सुधारका लागि अन्तर्राष्ट्रियस्तरको अत्याधुनिक जैविक प्रविधि व्यावसायिक रूपमा उपलब्ध हुनेछ । साझेदारीअनुसार बायोरिजेन बायोसाइन्सेजले आफ्ना जेन–४ जैविक उत्पादनहरू नेपालमा उपलब्ध गराउनेछ भने दियालो टेक्नोलोजिजले बजार विस्तार, प्रविधि कार्यान्वयन, डिजिटल मनिटरिङ र समग्र परियोजना व्यवस्थापनको जिम्मेवारी सम्हाल्नेछ ।
दुई कम्पनीको समझदारीअनुसार जलाशयहरूको पुनर्जीवनका लागि एक्वारिगेटिन र बायोरिगेटिन नामक फाइकोरमिडिएसन प्रविधि नेपालमा प्रयोग गरिनेछ । यो प्रकृतिमा आधारित नानो न्युट्रिएन्ट प्रणाली हो, जसले पानीको पारिस्थितिक प्रणालीलाई प्राकृतिक रूपमै सन्तुलनमा ल्याउँछ ।
कम्पनीकाअनुसार यो नवीन प्रविधिले पानीमा प्राकृतिक रूपमा रहेका लाभदायक सूक्ष्म जीवहरू, विशेषगरी डायटम्स तथा उपयोगी लेउलाई सूर्यको प्रकाश र कार्बनडाइअक्साइडको सहयोगमा सक्रिय बनाउँछ । यसले पानीमा प्राकृतिक रूपमै अक्सिजनको मात्रा बढाउनुका साथै पानीमा रहेका जैविक प्रदूषणका सूचकहरू बिओडी र सिओडीलाई उल्लेखनीय रूपमा घटाउने बताइएको छ । यसबाट पानीमा जम्मा भएका अतिरिक्त नाइट्रोजन र फस्फोरसको मात्रा कम गर्ने र दुर्गन्ध नियन्त्रण गर्न सकिन्छ ।
हाम्रा जलस्रोत, माटो र समग्र प्राकृतिक पर्यावरणलाई नै पुनर्जीवन दिनु आफूहरूको लक्ष्य भएको दियालो टेक्नोलोजिजकी प्रोजेक्ट म्यानेजर मेलिना खनालले बताइन् । यस साझेदारीले नेपालको वातावरण संरक्षणको क्षेत्रमा नयाँ र सकारात्मक सम्भावनाहरूको सिर्जना गर्ने उनले बताइन् ।