बागमती प्रदेश सरकारबाट बाहिरिने तयारीमा रहेको नेकपा (एमाले)का मन्त्रीहरूको राजीनामापत्र मुख्यमन्त्रीसमक्ष बुझाउनुअघि नै सामाजिक सञ्जालमा सार्वजनिक भएको छ । मुख्यमन्त्री इन्द्रबहादुर बानियाँलाई बुझाउन तयार पारिएको सामूहिक राजीनामापत्र एमाले संसदीय दलको सचिवालयबाट बाहिरिएको हो ।
मुख्यमन्त्री बानियाँ मंगलबारदेखि चितवनमा रहेकाले राजीनामापत्र तत्काल बुझाउन सम्भव नभएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ । कार्यालयका अनुसार मुख्यमन्त्री बुधबार दिउँसो मात्रै हेटौँडा फर्किने कार्यक्रम छ । त्यसपछि मात्रै एमालेका मन्त्रीहरूले राजीनामा बुझाउने तयारी गरेका छन् ।
यसबिच एमाले संसदीय दलको सचिवालयबाट सरकारलाई दिएको समर्थन फिर्ता लिने तथा मन्त्रीहरूको सामूहिक राजीनामासम्बन्धी मुख्य पत्र सार्वजनिक भएको छ। पत्रमा एमाले बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ थपलियाको हस्ताक्षर भए पनि पार्टीको आधिकारिक छाप भने लगाइएको छैन ।
एमाले संसदीय दल सचिवालयका एक कर्मचारीले उक्त पत्र सचिवालयबाट कसरी बाहिरियो भन्ने विषयमा औपचारिक जानकारी नभएको बताए । उनका अनुसार कुनै सांसद वा मन्त्रीले नै मोबाइलबाट फोटो खिचेर सार्वजनिक गरेको हुन सक्ने प्रारम्भिक अनुमान गरिएको छ ।
एमालेले केन्द्रको निर्देशनअनुसार बागमती प्रदेश सरकारबाट बाहिरिने निर्णय गरिसकेको छ । सरकारमा रहेका एमालेका ६ मन्त्रीले सामूहिक रूपमा राजीनामा दिने र सरकारलाई दिएको समर्थन पनि फिर्ता लिने निर्णय भएको भए पनि मुख्यमन्त्रीको अनुपस्थितिका कारण औपचारिक प्रक्रिया केही घण्टा पछि धकेलिएको हो ।
एमालेले भने पत्र सार्वजनिक भएको विषयमा कुनै औपचारिक प्रतिक्रिया दिएको छैन । अब मुख्यमन्त्री हेटौँडा फर्किएपछि राजीनामापत्र बुझाउने र समर्थन फिर्ताको पत्र दर्ता गराउने तयारी रहेको एमाले स्रोतले जनाएको छ ।
