सरकारको करदाता प्रोत्साहन उपहार कार्यक्रम सुरु : बिल लिने उपभोक्तालाई १० लाखसम्म जित्ने अवसर

बुधबार, ६ साउन, २०८३
डिजिटल संस्करण
  •  एक सय रुपैयाँभन्दा बढी मूल्यको वस्तु वा सेवा खरिद गर्ने अन्तिम उपभोक्ता कार्यक्रममा सहभागी हुन सक्ने, दैनिक एक लाख र पाक्षिक १० लाखसम्म जित्ने अवसर
  •  राजस्व विभागले इभेन्ट अर्गनाइजरलाई जिम्मा दिन सक्ने, दाबी नपरेको उपहार रकम प्रधानमन्त्री उद्धार कोषमा जम्मा हुने

उपभोक्ताले सरसामान खरिद गर्दा अनिवार्य रूपमा बीजक लिन प्रोत्साहन गर्न सरकारले ‘करदाता प्रोत्साहन उपहार कार्यक्रम सञ्चालन कार्यविधि, २०८३’ जारी गरेको छ । आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन, २०७६ को दफा ६५ को उपदफा (२) र (४) ले दिएको अधिकार प्रयोग गर्दै अर्थ मन्त्रालयले कार्यविधि जारी गरेको हो । कार्यविधि तत्काल लागू हुने मन्त्रालयले जानकारी दिएको छ ।

कार्यविधिअनुसार वस्तु तथा सेवा खरिद–बिक्रीमा बीजक लिने–दिने संस्कृतिको विकास, कर अनुपालन बढाउने, वास्तविक कारोबार अभिलेखीकरणलाई प्रोत्साहन गर्ने तथा उपभोक्तालाई खरिद गर्दा अनिवार्य रूपमा बीजक लिन उत्प्रेरित गर्ने उद्देश्यले यो कार्यविधि लागू गरेको हो । 

वार्षिक बजेट तथा कार्यक्रमको अधीनमा रही करदाता प्रोत्साहन उपहार कार्यक्रम सञ्चालन गर्ने मन्त्रालयले जानकारी दिएको छ । कार्यक्रम सञ्चालनको जिम्मेवारी आन्तरिक राजस्व विभागलाई दिइएको छ । विभागले आवश्यक परे कार्यक्रम आयोजक (इभेन्ट अर्गनाइजर) छनोट गरी सञ्चालन तथा व्यवस्थापनको जिम्मेवारीसमेत दिन सक्नेछ ।

कार्यक्रममा नेपालभित्र आफ्नै प्रयोजनका लागि एकपटकमा एक सय रुपैयाँभन्दा बढी मूल्यको वस्तु वा सेवा खरिद गर्ने अन्तिम उपभोक्ता व्यक्ति सहभागी हुन सक्नेछन् । प्रत्येक महिनाको १ गतेदेखि मसान्तसम्म विद्युतीय भुक्तानीबाट गरिएका खरिद तथा प्रणालीमा प्रविष्ट भएका बीजक सोही महिनाको कार्यक्रममा समावेश हुनेछन् । प्रत्येक योग्य बीजक वा विद्युतीय भुक्तानीबाट गरिएको प्रत्येक खरिदबापत प्रणालीबाट एउटा उपहार टिकट उपलब्ध हुनेछ । एउटा बीजक वा एउटै विद्युतीय भुक्तानीबाट गरिएको खरिद एकभन्दा बढी पटक समावेश गर्न पाइनेछैन ।

तर, व्यावसायिक प्रयोजनका लागि भएका खरिदका बीजक, सरकारी निकाय वा सार्वजनिक संस्थाको नाममा जारी भएका बीजक, टेलिफोन, इन्टरनेट, विद्युत्, सवारी तथा ढुवानीका साधन र हवाई टिकट खरिदका बीजक तथा स्थायी लेखा नम्बर (प्यान) नभएका व्यक्तिबाट खरिद गरिएका बीजक कार्यक्रममा सहभागी हुन योग्य हुनेछैनन् ।

भुक्तानी सेवाप्रदायकमार्फत गरिएको विद्युतीय भुक्तानीबाट भएका खरिद स्वतः कार्यक्रममा समावेश हुनेछन् । अन्य योग्य उपभोक्ताले भने बीजक जारी भएको तोकिएको अवधिभित्र विभागको वेबपोर्टल, मोबाइल एप वा अन्य विद्युतीय प्रणालीमा बीजक नम्बर, विक्रेताको प्यान, बीजक जारी मिति, कुल रकम, भुक्तानीको प्रकार (नगद वा विद्युतीय), खरिदकर्ताको नाम र मोबाइल नम्बर प्रविष्ट गर्नुपर्नेछ । प्रणालीमार्फत विवरणको स्वचालित प्रमाणीकरण भएपछि मात्र त्यस्ता बीजक कार्यक्रमका लागि योग्य मानिनेछन् ।

विभागले प्रत्येक महिनाको १ गते र १६ गते विजेता छनोट गर्नेछ । महिनाको १ गते अघिल्लो महिनाको १६ गतेदेखि मसान्तसम्मका कारोबारमध्येबाट र १६ गते सोही महिनाको १ गतेदेखि १५ गतेसम्मका कारोबारमध्येबाट विजेता छनोट गरिनेछ । स्वचालित प्रणालीमार्फत प्रत्येक दिन एकजना दैनिक विजेता तथा प्रत्येक पाक्षिक अवधिमा एकजना बम्पर विजेता छनोट गरिने व्यवस्था गरिएको छ ।

बम्पर विजेता सम्बन्धित पाक्षिक अवधिमा कार्यक्रममा सहभागी भएका उपभोक्तामध्येबाट चयन गरिनेछ । विजेता छनोटका क्रममा उच्चपदस्थ वा ख्यातिप्राप्त व्यक्ति, विभिन्न निकायका प्रतिनिधि तथा सञ्चारकर्मीलाई आमन्त्रण गर्न सकिनेछ । छनोट भएका विजेतालाई मोबाइल नम्बर र इमेलमार्फत जानकारी गराइनेछ भने विभागको वेबसाइट तथा सामाजिक सञ्जालमार्फत नाम सार्वजनिक गर्ने उल्लेख छ ।

कार्यविधिअनुसार दैनिक विजेताले एक लाख ३३ हजार तीन सय ३४ रुपैयाँ उपहार प्राप्त गर्नेछन् भने पाक्षिक बम्पर विजेताले १० लाख रुपैयाँ पाउनेछन् । यी दुवै उपहार रकममा आयकर ऐन, २०५८ को दफा ८८क बमोजिम आकस्मिक लाभमा लाग्ने २५ प्रतिशत कर कट्टी गर्ने उल्लेख छ ।

उपहार प्राप्त गर्न विजेताले घोषणा भएको मितिले १५ दिनभित्र नजिकको आन्तरिक राजस्व कार्यालयमा आफैँ वा वारेसमार्फत निवेदन दिनुपर्नेछ । निवेदनसँग सक्कल बीजक, राष्ट्रिय परिचयपत्र, नागरिकता, राहदानी, सवारीचालक अनुमतिपत्र वा अन्य आधिकारिक परिचयपत्रको प्रतिलिपि, बैंक खाताको विवरण र स्थायी लेखा नम्बर पेस गर्नुपर्नेछ । कार्यालयले पेस भएका कागजात तथा विवरण १० दिनभित्र जाँचबुझ गरी उपहार वितरण गर्नेछ ।

जाँचका क्रममा झुट्टा, नक्कली वा किर्ते कागजात प्रमाणित भएमा सम्बन्धित व्यक्तिविरुद्ध प्रचलित कानुनबमोजिम कारबाहीका लागि सम्बन्धित निकायमा लेखिपठाउने उल्लेख छ । उपहार रकम विभागले विजेताले उपलब्ध गराएको बैंक खातामा सिधै जम्मा गर्नेछ । तोकिएको १५ दिनभित्र आवश्यक कागजातसहित उपहार दाबी गर्न नआएमा त्यस्तो रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिने व्यवस्था गरिएको छ । कार्यविधिमा विभागले मातहतका कार्यालय तथा अन्य सञ्चारमाध्यममार्फत कार्यक्रमको व्यापक प्रचारप्रसार गर्नुपर्ने उल्लेख छ । 

सुझावित समाचार