आफ्नै कारभित्र जलेर व्यवसायीको मृत्यु

बुधबार, ६ साउन, २०८३
डिजिटल संस्करण
आफ्नै कारभित्र जलेर व्यवसायीको मृत्यु

मंगलबार दिउँसो आगलागीबाट जलेको सुरेशचन्द्र श्रेष्ठ सवार कार

आफ्नै कारभित्र जलेर कीर्तिपुरमा औषधि व्यवसायीको मृत्यु भएको छ । कीर्तिपुरको चाँदनी चोकस्थित खाली जग्गामा पार्किङ गरिएको बा.५च ३०३८ नम्बरको कारभित्र जलेर ७० वर्षीय सुरेशचन्द्र श्रेष्ठको मंगलबार दिउँसो मृत्यु भएको हो । काठमाडौंको नरदेवी स्थायी घर भएका उनी कीर्तिपुरकै ग्रिन उड भिल्लामा बस्दै आएका थिए ।

पछिल्ला वर्ष उनको व्यवसाय खस्किएको परिवारले जनाएको छ । कारमा आगो सल्किएपछि स्थानीय र प्रहरी निभाउन पुगेका थिए । तर, उद्धार नहुँदै कारभित्रै जलेर उनको मृत्यु भइसकेको थियो । कार पूर्ण रूपमा जलेको छ । घटना सम्बन्धमा विस्तृत अनुसन्धान अघि बढेको जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी पवन भट्टराईले बताए । पोस्टमार्टमका लागि श्रेष्ठको शव त्रिवि शिक्षण अस्पतालमा पठाइएको छ । 

घ्याम्पेडाँडामा युवकको हत्या, १८ जना पक्राउ 
भक्तपुरको घ्याम्पेडाँडामा एक युवकको हत्या भएको छ । हत्या आरोपमा १८ जनाविरुद्ध प्रहरीले मुद्दा प्रक्रिया अघि बढेको छ । आइतबार राति घ्याम्पेडाँडाको थ्री इडियट्स गेस्टहाउसमा भएको विवादमा बर्दिया घर भई सल्लाघारी बस्ने राज कार्कीको हत्या भएको हो । 

जिल्ला प्रहरी कार्यालय, भक्तपुरका डिएसपी दीपक कार्कीका अनुसार सामान्य भनाभनबाट विवाद भएकामा पछि कुटाकुट भएको देखिन्छ । झगडा बढेपछि होटेलमा ४०–५० जना जम्मा भएका थिए । झगडामा प्रत्यक्ष रूपमा संलग्न देखिएकालाई थुनामा राखेर मुद्दा प्रक्रिया अघि बढाइएको डिएसपी कार्कीले बताए । विश्वकप फुटबलको फाइनल खेलका वेला घटना भएको हो । 

पैसा चोरेको रिसमा गोंगबुमा युवतीको हत्या 
काठमाडौंको गोंगुबमा एक युवतीको हत्या भएको छ । हत्यामा संलग्न दुईजना पक्राउ परेका छन् । गत ३२ असारमा गोंगबुस्थित मित्रनगरमा रहेको माउन्टेन एक्सेल्सिभा होटेल कैलालीको धनगढी उपमहानगरपालिका– ७ स्थायी घर भई हाल काठमाडौंको माछापोखरी बस्ने २५ वर्षीया निशा सुनारको हत्या भएको हो । हत्यामा संलग्न दैलेखको डुंगेश्वर गाउँपालिका– ६, लटाली स्थायी घर भई हाल काठमाडौं महानगरपालिका– ३ चक्रपथस्थित साम्बाला होटेलआसपास बस्ने २७ वर्षीय रमेश बुढा र जुम्लाको चन्दननाथ नगरपालिका– २ घर भई काठमाडौं बस्ने ३८ वर्षीय दानबहादुर शाहीलाई प्रहरीले पक्राउ गरेको हो । 

प्रहरी अनुसन्धानअनुसार रमेश र ती युवती सहमतिमै होटेलमा गएका थिए । रमेश नुहाउन शौचालय छिरेको मौकामा युवती उनको झोलामा रहेको एक लाख लिएर भागेको खुलेको छ । भोलिपल्ट सडकमा खोजेर तिनै युवतीसँग डिल गरेर उनी होटेलमा लैजान्छन् । होटेलमा गएपछि मात्र युवतीले रमेशलाई चिन्छिन् । पैसा फिर्ता माग्दै रमेशले झगडा सुरु गर्छन्, पछि झगडा हुँदा बियरको बोतलले हानेर उनको हत्या गरेको अनुसन्धानमा खुलेको छ । 
 

सुझावित समाचार