भक्तपुरको घ्याम्पेडाँडामा एक युवकको हत्या भएको छ। हत्या आरोपमा १८ जनाविरुद्ध प्रहरीले मुद्दा प्रक्रिया अघि बढेको छ।
आइतबार राति घ्याम्पेडाँडाको थ्री इडियट्स गेस्ट हाउसमा झगडा भएको थियो। जसमा बर्दिया घर भई सल्लाघारी बस्ने राज कार्कीको हत्या भएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय, भक्तपुरका डिएसपी दीपक कार्कीका अनुसार सामान्य भनाभनबाट विवाद भएकामा पछि कुटाकुट भएको देखिन्छ। झगडा बढेपछि होटेलमा ४०–५० जना जम्मा भएका थिए। झगडामा प्रत्यक्ष रूपमा संलग्न देखिएकालाई थुनामा राखेर मुद्दा प्रक्रिया अघि बढाइएको डिएसपी कार्कीले बताए। विश्व फुटबलको फाइनल खेलको राति सो घटना भएको हो। होटेल सञ्चालकलाई समेत प्रहरीले पक्राउ गरेको छ।
होटेलमा सिसिक्यामेरा नभएको र त्यहाँ उपस्थित भएका व्यक्तिहरूले खिचेका भिडियोलाई समेत आधार बनाएर प्रहरीले अनुसन्धान अघि बढाएको छ।