संयुक्त राष्ट्रसंघको शान्ति मिसनमा सहभागी हुन थालेको ६८ वर्षको अवधिमा ७४ जना नेपाली सैनिकले आफ्नो ज्यान गुमाएका छन्।
नेपालले २९ मंसिर २०१२ मा संयुक्त राष्ट्रसंघको सदस्यता प्राप्त गरेको थियो। त्यसपछि ३० जेठ २०१५ मा लेबनानस्थित 'युनाइटेड नेसन्स अब्जर्भर ग्रुप इन लेबनान' मिसनमा पाँचसदस्यीय नेपाली सैनिक पर्यवेक्षक टोली पहिलोपटक खटिएको थियो।
सैनिक पर्यवेक्षकका रूपमा सुरु भएको यो यात्रा पछि सैन्य युनिटकै रूपमा अघि बढेको हो। सन् १९७४ (वि.सं. २०३१) मा संयुक्त राष्ट्रसंघको आह्वानमा नेपाली सेनाको पहिलो युनिटका रूपमा 'श्री पुरानो गोरख गण' इजिप्टस्थित शान्ति मिसनमा तैनाथ भएको थियो।
६८ वर्षको यस ऐतिहासिक यात्रामा हालसम्म १ लाख ६५ हजार ६६२ जना नेपाली शान्ति सैनिकले राष्ट्रसंघका ४४ वटा विभिन्न जटिल एवं जोखिमपूर्ण मिसनहरूमा सहभागिता जनाइसकेका छन्। विश्व शान्ति स्थापनाको यस महान् कार्यमा खटिने क्रममा ७४ जना नेपाली सैनिकले वीरगति प्राप्त गरेका छन् भने ७७ जना सैनिक घाइते भएका छन्।