अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कैलाली डिभिजन वन कार्यालय धनगढी र पहलमानपुरमा एकसाथ छापा हानेको छ। कैलालीका ११ सामुदायिक वनमा अनियमित र अवैध रूपमा हरिया खयरका रुख काटेर लिलाम बिक्री गर्न खोजिएको भन्ने उजुरीका आधारमा दुवै डिभिजन वन कार्यालयमा छापा हानेको अख्तियार कञ्चनपुर कार्यालयका सूचना अधिकारी चेतराज भट्टले जानकारी दिए।
भट्टका अनुसार दुवै डिभिजन वन कार्यालयबाट आवश्यक कागजातसमेत नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाइएको छ। उजुरीमा डिभिजन वन कार्यालय धनगढीअन्तर्गत रहेको बारावन साझेदारी वन उपभोक्ता समितिको १ लाख ८६ हजार क्युफिट, केदारेश्वर सामुदायिक वन उपभोक्ता समितिको ३६ हजार क्युफिट गरेर जम्मा दुई लाख २२ हजार क्युफिट काठ बिक्री गर्न खोजिएको उल्लेख छ।
यसैगरी, डिभिजन वन कार्यालय पहलमानपुरअन्तर्गत छत्युन सामुदायिक वनको १८ हजार, मोहन्यालको १२ हजार, जगतपुरको ७ हजार, साडेपानीको ७ हजार, मैनापोखरीको २३ हजार, शिवशक्तिको ८७ हजार, गतिशिलको १२ हजार, जनताको १८ हजार, घोडाघोडीको १९ हजार क्युफिट गरेर जम्मा १ लाख २३ हजार क्युफिट काठ बिक्री गर्न खोजिएको उजुरी परेको छ। कैलालीका ११ सामुदायिक वनको तीन लाख ४५ हजार क्युफिट काठ अवधै तरिकाले बिक्री/वितरण गर्न अनुमति दिएको आरोप लगाइएको छ।