हत्या आरोपमा दुई युवक पक्राउ, होटेलको पलङभित्र भेटिएको थियो शव

मंगलबार, ५ साउन, २०८३
डिजिटल संस्करण

काठमाडौं महानगरपालिका– २६, गोंगबुस्थित मित्रनगरमा रहेको माउन्टेन एक्सेल्सिभा होटेलको कोठाभित्र एक महिला मृत अवस्थामा फेला परेको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले दुई युवकलाई पक्राउ गरेको छ।

साउन ३ गते आइतबार बिहान करिब ११ बजे होटेलको चौथो तल्लामा रहेको ४०४ नम्बर कोठामा काठको बक्स पलङभित्र एक महिलाको शव भेटिएको थियो।

सूचनापछि जिल्ला प्रहरी परिसर भद्रकालीबाट खटिएको प्रहरी टोलीले घटनास्थल पुगेर अनुसन्धान थालेको थियो। प्राविधिक विश्लेषणका आधारमा मृतक कैलालीको धनगढी उपमहानगरपालिका– ७ घर भई काठमाडौंको माछापोखरी बस्ने २५ वर्षीया निशा सुनार रहेको खुलेको प्रहरीले जनाएको छ।

घटनामा संलग्न रहेको आरोपमा प्रहरीले दैलेखको डुंगेश्वर गाउँपालिका– ६ लटाली स्थायी घर भई काठमाडौं– ३ चक्रपथस्थित सम्बाला होटेल आसपास बस्ने २७ वर्षीय रमेश बुढा र जुम्लाको चन्दननाथ नगरपालिका– २ घर भई काठमाडाैं बस्ने ३८ वर्षीय दानबहादुर शाहीलाई पक्राउ गरेको हो।

प्रहरीले पक्राउ परेका दुवैजनालाई कर्तव्य ज्यानसम्बन्धी कसुरमा थप अनुसन्धान अघि बढाएको छ।

सुझावित समाचार