काठमाडौंको होटेलभित्र महिला मृत फेला परेको घटनामा दुई पक्राउ

मंगलबार, ५ साउन, २०८३
डिजिटल संस्करण

काठमाडौं महानगरपालिका– २६, मित्रनगरस्थित होटेल माउन्टेन एल्सिभाको एक कोठामा महिला मृत अवस्थामा फेला परेको घटनामा संलग्न भएको आरोपमा प्रहरीले दुईजनालाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार साउन ३ गते बिहान करिब ११ बजे होटेलको चौथो तलाको कोठामा एक महिला मृत अवस्थामा रहेको सूचना प्राप्त भएपछि जिल्ला प्रहरी परिसर काठमाडौं र प्रहरी प्रभाग नयाँ बसपार्कबाट खटिएको टोलीले अनुसन्धान थालेको थियो।

अनुसन्धानका क्रममा दैलेखको डुंगेश्वर गाउँपालिका– ६ घर भई हाल काठमाडौं महानगरपालिका– ३ महाराजगन्ज बस्ने २७ वर्षीय रमेश बुढा तथा जुम्लाको चन्दननाथ गाउँपालिका– १ घर भई हाल बाँकेको नेपालगन्ज उपमहानगरपालिका बस्ने ३८ वर्षीय दानबहादुर शाहीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। शाहीलाई जिल्ला प्रहरी कार्यालय बाँकेको समन्वयमा पक्राउ गरिएको हो।

प्रहरीले दुवैजनाविरुद्ध कर्तव्य ज्यान कसुरमा काठमाडौं जिल्ला अदालतबाट सात दिनको म्याद थप अनुमति लिई अनुसन्धान अघि बढाएको जनाएको छ। जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक पवनकुमार भट्टराईका अनुसार घटनाबारे थप अनुसन्धान जारी रहेको छ।

See More On

सुझावित समाचार