काठमाडौंको कीर्तिपुर नगरपालिका, चोभारस्थित ट्यांलाफाँट क्षेत्रमा एक निजी कारमा मंगलबार अचानक आगलागी हुँदा चालकको जलेर मृत्यु भएको छ।
प्रहरीका अनुसार चाँदनी चोक नजिक ब.५च ३०३८ नम्बरको किया कारमा एक्कासि आगो लागेको थियो। आगलागीपछि चालक समयमै सवारीबाट बाहिर निस्कन नसक्दा उनी गाडीभित्रै जलेको अवस्थामा फेला परेका हुन्।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी पवनकुमार भट्टराईका अनुसार मृतक चालक सिट बेल्ट बाँधेको अवस्थामा फेला परेका छन्। उनको पहिचान हालसम्म खुल्न नसकेको प्रहरीले जनाएको छ। उक्त कारमा चालकबाहेक अन्य कोही पनि सवार थिएनन्।
मृतकको शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल, महाराजगन्ज पठाइएको प्रहरीले जनाएको छ। कारमा आगलागी हुनुको कारण हालसम्म खुल्न नसकेको प्रहरीले जनाएको छ। घटनाको वास्तविक कारण पत्ता लगाउन सम्बन्धित निकायले आवश्यक अनुसन्धान अघि बढाएको छ।