दक्षिण अमेरिका र युरोपबिचका १२ फाइनल नतिजा

मंगलबार, ५ साउन, २०८३
डिजिटल संस्करण

२३औँ संस्करणको फिफा विश्वकप फुटबल प्रतियोगिताअन्तर्गत आइतबार राति बिहान स्पेनले साबिक विजेता अर्जेन्टिनालाई १–० ले हराउँदै दोस्रोपटक उपाधि जितेको छ । मेटलाइफ रंगशालामा युरोप तथा दक्षिण अमेरिकाबिचको पनि भिडन्त थियो । समग्रमा विश्वकपमा युरोप र दक्षिण अमेरिकाबिच १२औँ फाइनल खेल हो । दक्षिण अमेरिकाले आठपटक र युरोपियनले चारपटक फाइनल जितेका छन् । हेरौँ अहिलेसम्म १२ फाइनलका नतिजा ।

१. सन् १९५८ : ब्राजिल ५–२ स्विडेन
विश्वकपको सातौँ संस्करण मात्र दक्षिण अमेरिका र युरोपियन राष्ट्रले उपाधिका लागि प्रतिस्पर्धा गरे । ब्राजिलले आयोजक स्विडेनलाई फाइनलमा एकपक्षीय रूपमा ५–२ ले हरायो । ब्राजिलका लागि पेलेले खेलको ५५औँ र ९०औँ मिनेटमा गोल गरेका थिए । घरेलु मैदानमा स्विडेनले चौथो मिनेटमै अग्रता बनाएको थियो । नवौँ मिनेटमा भाभाले ब्राजिललाई १–१ को बराबरीमा पुर्याए । पेलेसँगै भाभाले पनि दुई गोल गरे । ८०औँ मिनेटमा स्विडेनका सिमान्सनले ४–२ को गोलअन्तरका लागि फर्का{एका थिए । खेलको ९०औँ मिनेटमा पेलेले ब्राजिललाई ५–२ को जित दिलाए ।

२. सन् १९६२ : ब्राजिल ३–१ चेकोस्लोभाकिया
ब्राजिलले ब्याक टु ब्याक विश्वकप फाइनलमा युरोपियन राष्ट्रविरुद्ध प्रतिस्पर्धा गर्यो । चिलीमा भएको विश्वकपको फाइनलमा युरोपबाट चेकोस्लोभाकियाले ब्राजिलविरुद्ध खेलेको थियो । ब्राजिलले चेकोस्लोभाकियामाथि ३–१ को जित निकाली उपाधि रक्षा गर्यो । खेलको १५औँ मिनेटमा चेकोस्लोभाकियाका मासोपुस्टले अग्रता दिलाएका थिए । खेलको १७औँ मिनेटमा अमारिल्डोले ब्राजिललाई १–१ को बराबरीमा ल्याए । दोस्रो हाफमा ब्राजिलले दुई गोल थप्दै विश्वकप ट्रफीमाथि कब्जा जमायो । ब्राजिलका लागि जिटो र भाभाले समान एक गोल गरेका थिए ।

३. सन् १९७० : ब्राजिल ४–१ इटाली
मेक्सिकोले आयोजना गरेको विश्वकपको फाइनलमा ब्राजिल र इटालीबिच भएको थियो । ब्राजिलले इटालीलाई ४–१ ले हरायो । ब्राजिलले तेस्रोपटक उपाधि जित्दा पेले, जर्सन, जरिन्हो र कार्लोस अल्बर्टोले एक–एक गोल गरेका थिए । खेलको १८औँ मिनेटमै पेलेले ब्राजिललाई १–० को अग्रता दिलाए । खेलको ३७औँ मिनेटमा इटालीले बराबरी गोल फर्कायो । इटालीका लागि बोनिसेन्गाले १–१ का लागि गोल गरे । खेलको ६६औँ, ७१औँ र ८६औँ मिनेटमा ब्राजिलले गोल गर्दै उपाधि जित्यो ।

४. सन् १९७८ : अर्जेन्टिना ३–१ नेदरल्यान्ड्स (अतिरिक्त समय)
सन् १९७८ को आयोजक अर्जेन्टिनाले उपाधि घरबाट बाहिर पठाएन । उसले घरेलु मैदानको फाइदा लिँदै फाइनलमा नेदरल्यान्ड्सलाई अतिरिक्त समयमा ३–१ ले हराउँदै पहिलोपटक उपाधि हात पार्यो । खेलको ३८औँ मिनेटमा केम्पेसले अर्जेन्टिनालाई १–० को अग्रता दिलाएका थिए । खेलको ८२औँ मिनेटमा नेदरल्यान्ड्सका नानिगाले १–१ को बराबरी गोल फर्काए । उपाधि छिनोफानो अतिरिक्त समयबाट भयो । खेलको १०५औँ मिनेटमा केम्पेसले र ११५औँ मिनेटमा बेर्टोनीले गोल गर्दै अर्जेन्टिनालाई उपाधि दिलाए ।

५. सन् १९८६ : अर्जेन्टि ना ३–२ पश्चिम जर्मनी
मेक्सिकोमा भएको विश्वकपमा अर्जेन्टिनी कप्तान डिएगो म्याराडोनाले जादुमयी खेल देखाएका थिए । म्याराडोनाको एकल प्रदर्शनमा अर्जेन्टिना फाइनलमा पुगेको थियो । विश्वकपमा इंग्ल्यान्डविरुद्ध क्वार्टरफाइनलमा म्याराडोनाले एक गोल उत्कृष्ट र अर्को विवादास्पद बनेको थियो । अर्जेन्टिनाले उपाधि भिडन्तमा पश्चिम जर्मनीलाई ३–२ को रोमाञ्चक गोलअन्तरमा हराउँदै दोस्रोपटक उपाधि जित्यो । अर्जेन्टिनाका ब्राउनले २३औँ मिनेटमा १–० को अग्रता दिलाए । खेलको ५६औँ मिनेटमा भाल्डोनाले अर्जेन्टिनालाई २–० को स्थितिमा राखे । पश्चिम जर्मनीले ७४औँ र ८१औँ मिनेटमा गोल २–२ को बराबरीमा पुर्यायो । खेलको ९४औँ मिनेटमा बुरुचागाले निर्णायक गोल गर्दा अर्जेन्टिना विजयी भयो ।

६. सन् १९९० : पश्चिम जर्मनी १–० अर्जेन्टिना
विश्वकपको इतिहासमा लगातार दोस्रोपटक साबिक विजेता र उपविजेताले उपाधि भिडन्तमा प्रतिस्पर्धा गरेका थिए । सन् १९९० मा इटालीले आयोजना गरेको विश्वकपमा साबिक विजेता अर्जेन्टिना र उपविजेता पश्चिम जर्मनीले एक–आपसमा भिडेका हुन् । पश्चिम जर्मनीले अघिल्लो फाइनलमा व्यहोरेको हारको बदला लिँदै अर्जेन्टिनालाई १–० ले हरायो । जर्मनीले ८५औँ मिनेटमा निर्णायक पेनाल्टी गोल गरेको थियो ।

७. सन् १९९४ : ब्राजिल ३–२ इटाली (टाइब्रेकर)
अमेरिकाले पहिलोपटक विश्वकप आयोजना गर्दा ब्राजिल र इटालीबिच उपाधि भिडन्त भयो । सन् १९७० पछि ब्राजिल र सन् १९८२ पछि इटालीले विश्वकपको अन्तिम दुई स्थान सुरक्षित गरेका थिए । उपाधि भिडन्तको निर्धारित र अतिरिक्त समयमा गोलरहित बराबरी भयो । विश्वकप इतिहासमै पहिलोपटक विश्वकप विजेताको छिनोफानो टाइब्रेकरबाट भयो । ब्राजिलले इटालीलाई ३–२ ले स्तब्ध पार्दै चौथोपटक विश्वकप उपाधि जित्यो ।

८. सन् १९९८ : फ्रान्स ३–० ब्राजिल
ब्राजिलले ब्याक टु ब्याक फाइनल खेल्यो । फ्रान्समा भएको विश्वकपमा ब्राजिललाई उपाधि दाबेदार लिइएको थियो । ब्राजिलले फाइनलमा आयोजक फ्रान्ससँग प्रतिस्पर्धा गर्यो । जिनेदिन जिदानको जादुमयी खेलअगाडि ब्राजिल ३–० ले पराजित भयो । जिदानले खेलको २७औँ र ४५औँ मिनेटमा गोल गरेका थिए । पेटीले अन्तिम इन्जुरी समयमा गोल गर्दा फ्रान्सले ब्राजिलमाथि सनसनीपूर्ण जित निकाल्यो ।

९. सन् २००२ : ब्राजिल २–० जर्मनी
विश्वकपमा लगातार तीनपटक फाइनल खेल्ने ब्राजिल मात्र हो । सन् १९९४ देखि २००२ सम्मका विश्वकप फाइनल खेल्दा ब्राजिल दुईपटक च्याम्पियन बन्यो । जापान र दक्षिण कोरियाले आयोजना गरेको विश्वकप फाइनलमा ब्राजिलले जर्मनीविरुद्ध प्रतिस्पर्धा गरेको थियो । रोनाल्डोको उत्कृष्ट खेलअगाडि जर्मनीको केही लागेन । रोनाल्डोले जर्मनीको बलियो डिफेन्स तोड्दै दुई गोल मात्र गरेनन्, ब्राजिललाई पाँचौँपटक विश्व च्याम्पियसमेत बनाए ।

१०. सन् २०१४ : जर्मनी १–० अर्जेन्टिना
सन् २०१४ मा ब्राजिलमा भएको विश्वकपमा जर्मनी र अर्जेन्टिनाबिच उपाधि भिडन्त भयो । यो फाइनलको संयोग एउटै थियो । जर्मनी र अर्जेन्टिना २८ वर्षपछि फाइनलमा पुगेका हुन् । दुवैले अन्तिमपटक सन् १९९० को फाइनल खेलेका थिए । जर्मनीले अतिरिक्त समयमा लियोनल मेसीले नेतृत्व गरेको अर्जेन्टिनालाई १–० ले हरायो । खेलको ११३औँ मिनेटमा मारियो गोट्जेले निर्णायक गोल गर्दा जर्मनी चौथोपटक विश्वकप विजेता बन्यो ।

११. सन् २०२२ : अर्जेन्टिना ४–२ फ्रान्स (टाइब्रेकर)
सन् २०२२ को कतार विश्वकपमा युरोप र दक्षिण अमेरिकाका राष्ट्रबिच फाइनल भयो । कप्तान मेसीको उत्कृष्ट प्रदर्शनको सहयोगमा अर्जेन्टिनाले आठ वर्षको अन्तरमा दोस्रोपटक विश्वकप फाइनल खेल्यो । सो विश्वकपको साबिक विजेता फ्रान्सले उत्तिकै राम्रो खेल्दै फाइनल स्थान बनाएको थियो । विश्वकप इतिहासमा यो फाइनल सर्वाधिक रोमाञ्चक र नाटकीय भनिन्छ । निर्धारित तथा अतिरिक्त समयमा दुवैले ३–३ गोल गरेका थिए । अर्जेन्टिनाले टाइब्रेकरमा फ्रmान्सलाई ४–२ ले स्तब्ध पार्यो ।

१२. सन् २०२६ : स्पेन १–० अर्जेन्टिना (अतिरिक्त समय)
फिफा विश्वकप २०२६ को फाइनलको १०६औँ मिनेटमा फेरान टोरेसको एक मात्र गोलको सहयोगमा स्पेनले साबिक विजेता अर्जेन्टिनालाई १–० ले हराउँदै दोस्रोपटक विश्व च्याम्पियन बन्यो । वैकल्पिक खेलाडीका रूपमा मैदान छिरेका टोरेस स्पेनका लागि नायक बने । उनले डिबक्सभित्र अर्जेन्टिनी गोलरक्षक एमिलियानो मार्टिनेजलाई छक्याउँदै गोल गरेका थिए । टोरेसको गोलसँगै लियोनल मेसीको कप्तानीमा रहेको अर्जेन्टिनाको लगातार दोस्रोपटक विश्वकप जित्ने सपना चकनाचुर भयो ।

एजेन्सीको सहयोगमा 

See More On

सुझावित समाचार