बाह्रै महिना यातायात सञ्चालन गर्न हलेसी तुवाचुङमा २६ जना सडक हेरालु नियुक्त

मंगलबार, ५ साउन, २०८३
डिजिटल संस्करण

हलेसी तुवाचुङ नगरपालिकाले ग्रामीण सडकमा बाह्रै महिना यातायात सञ्चालन गर्नका लागि २६ जना सडक हेरालु नियुक्त गरेको छ । वर्षायाममा अत्यधिक वर्षा हुने र ग्रामीण सडकहरू निरन्तर क्षतिग्रस्त भएर यातायात अवरुद्ध हुने अवस्थालाई मध्यनजर गर्दै नगरपालिकाले सडक हेरालु नियुक्त गरेको हो । 

विगत वर्षहरूमा सडक मर्मत गर्नका लागि मेसिन प्रयोग गर्दै आएको नगरपालिकाले चालू आर्थिक  वर्षदेखि मेसिनको सट्टा सडक हेरालुको रूपमा मान्छेको प्रयोग सुरु गरेको छ । एघार वडा रहेको यो नगरपालिकामा सडक मर्मतमा मात्र वार्षिक रु. एक करोडको हाराहारीमा खर्च हुँदै आएको थियो । 

सडक मर्मत तथा सम्भारको नाममा नगरपालिका र वडा कार्यालयले बजेट विनियोजन गर्दै आएको थियो । नगरपालिकाले एजनाले मासिक रु. २१ हजार पारिश्रमिक पाउने गरी २६ जना हेरालुलाई तीन महिनाका लागि नियुक्ति दिएको हो । 

सडक हेरालुलाई सडकको रेखदेख गर्ने, सम्भावित जोखिमयुक्त स्थानको पहिचान गरी नाली सरसफाइ गर्ने, खाल्डाखुल्डी पुर्ने, सडकमा आएको क्षति तत्काल मर्मत गर्ने तथा आवश्यक परे सम्बन्धित निकायलाई जानकारी गराउने जिम्मेवारी दिइएको छ । नगरपालिकाले नियुक्त गरेको सडक हेरालुले जनघनत्व बढी भएका बस्ती आसपास तथा सर्वसाधारणले बढी उपयोग गर्ने सडक छानेर मर्मत गर्नेछ । 

सम्बन्धित सडकआसपास बसोबास गर्ने तथा आर्थिक रूपमा विपन्न परिवारका व्यक्तिलाई प्राथमिकता दिने मापदण्ड बनाएर वडाको सिफारिसको आधारमा सडक हेरालु नियुक्त गरिएको नगरप्रमुख विमला राईले जानकारी दिएकी छिन् । ‘विगत वर्षहरूमा सडक मर्मतका लागि मेसिन प्रयोग गर्दा नगरपालिका र वडाले ठुलो बजेट खर्च गर्यौँ । त्यसले दीर्घकालीन समाधान दिन नसकपछि यसपटक सडक हेरालु नियुक्त गरिएको छ,’ उनले भनिन्, ‘मेसिनले एकपटक मर्मत गरिएका सडकहरू वर्षापछि पुनः बिग्रिने समस्या दोहोरिएको थियो । सडक हेरालुको नतिजा फलदायी देखिए संख्यासमेत वृद्धि गर्ने र कार्यक्रमलाई निरन्तरता दिने योजना बनाएका छौँ ।’

भूगोलका आधारमा ठुला चार वडा बाहुनीडाँडा, डिकुवा, दुर्छिम र राजापानीमा तीन–तीनजना र अन्य सात वडामा दुई–दुईजनाका दरले हेरालु नियुक्ति गरिएको छ । मानवीय जनशक्ति प्रयोग गरेर सडकलाई चुस्त तथा दुरुस्त राख्ने लक्ष्यका साथ नगरपालिकाले आर्थिक वर्ष ०८३/८४ को नीति तथा कार्यक्रममा सडक हेरालु राख्ने प्रस्ताव पारित गरेको थियो ।

सुझावित समाचार