राष्ट्रसंघको शान्ति मिसन : २८ करोड डलर बजेट र २५% जनशक्ति कटौती

मंगलबार, ५ साउन, २०८३
डिजिटल संस्करण
  • ०८१/८२ मा नेपालबाट कुल पाँच हजार ८१९ सैनिक खटिएकामा ०८२/८३ मा चार हजार ९० मा घटे, संख्या कटौती हुँदासमेत शान्ति मिसनमा सबैभन्दा धेरै फौज भने नेपालकै

संयुक्त राष्ट्रसंघले विश्वका ११ शान्ति स्थापक मिसनको बजेट कटौती गरेसँगै २५ प्रतिशत शान्ति सेना कटौती हुन थालेको छ । चालू आर्थिक वर्षको बजेट गत वर्षको भन्दा २८ करोड डलर कटौती गरेसँगै केही मिसन बन्द हुने र शान्ति सैनिकको संख्या विश्वव्यापी रूपमा नै कटौती हुनेछ । हाल नेपालसहित ११९ देशका ४५ हजार चार सयभन्दा बढी शान्ति सैनिक (प्रहरीसमेत)द्वन्द्वग्रस्त ११ मिसनमा परिचालित छन् ।

शान्ति मिसनमा सबैभन्दा बढी सैनिक पठाउने देशहरूको सूचीमा भने नेपाल पहिलो नम्बरमै छ । हाल विश्वका नौ शान्ति स्थापक मिसनमा कुल चार हजार ९० सैनिक (स्टाफ अधिकृत र पर्यवेक्षकसमेत) कार्यरत छन् । आर्थिक वर्ष ०८१/८२ मा ५५५ महिला शान्ति सैनिकसहित कुल पाँच हजार ८१९ सैनिक खटिएका थिए । राष्ट्रसंघको शान्ति कार्यतर्फ आएको आर्थिक संकुचनका कारण संख्या कटौती भएको छ । सैनिक प्रवक्ता सहायकरथी राजाराम बस्नेतका अनुसार ०८२/८३ मा ३०६ महिला शान्ति सैनिकसहित कुल चार हजार ९० नेपाली सैनिक नौ मिसनमा कार्यरत छन् । संयुक्त राष्ट्रसंघले सबै देशका सैनिकको संख्या २५ प्रतिशत कटौती गर्ने निर्णय गरेअनुसार नेपाली सुरक्षाकर्मीको संख्या पनि सोही अनुपातमा घट्न थालेको उनको भनाइ छ ।

‘संख्या कटौतीबाट उत्पन्न परिस्थितिलाई आन्तरिक रूपमा कसरी व्यवस्थापन गर्ने भन्ने तयारी पनि गरेका छौँ,’ प्रवक्ता बस्नेतले भने । नेपाली सेनाले राष्ट्रसंघलाई आवश्यक परेको अवस्थामा १० हजार जनशक्तिलाई मिसनमा पठाउन सक्ने वचन दिँदै आएको छ । ‘हामीले गरेको प्रतिबद्धताअनुसार १० हजारसम्म फौज पठाउन हामी प्रतिबद्ध छौँ,’ प्रवक्ता बस्नेतले भने, ‘जसका लागि दुई युनिटहरू ६० दिनभित्र र पाँच युनिटहरू १८० दिनभित्र खटाउन सक्ने गरी तयारी हालतमा राखिएको छ ।’ उनले नेपाली सेनाको उच्चस्तरको अनुशासन, बफादारिता, कार्यदक्षता तथा शान्ति स्थापना कार्यप्रतिको प्रतिबद्धतालाई मनन गर्दै संयुक्त राष्ट्रसंघले नेपाललाई एक विश्वसनीय एवं भरपर्दो फौज उपलब्ध गराउने राष्ट्रको रूपमा हेरेको बताए ।

शान्ति स्थापक मिसनमा गएका सैनिकहरूबाट वर्षमा करिब १ खर्ब रुपैयाँबराबरको अमेरिकी डलर भित्रिँदै आएकामा यसमा समेत कटौती हुनेछ । संयुक्त राष्ट्रसंघको बडापत्रअनुसार सदस्य राष्ट्रहरूको आर्थिक, बन्दोबस्ती वा फौज उपलब्ध गराई योगदान पुर्याउनुपर्ने दायित्व छ । ‘संयुक्त राष्ट्रसंघको आवश्यकताअनुसार सदस्य राष्ट्रहरूले फौज पठाउन सक्ने र विगतमा पनि परिस्थितिअनुसार शान्ति मिसनहरूको संख्यामा थप/घट हुने गरेको थियो,’ प्रवक्ता बस्नेतले भने, ‘हाल शान्ति कार्यतर्फ आएको आर्थिक संकुचनका कारण शान्ति सैनिकहरूको संख्यामा समेत कटौती भई शान्ति सैनिक उपलब्ध गराउने सबै राष्ट्रहरूका सैनिकहरूमा पारस्परिक रूपमा संख्या समायोजन भएको छ ।’

यो वर्ष २८ करोड डलर बजेट कटौती
यो वर्ष जुन ३० मा, संयुक्त राष्ट्रसंघको महासभाले शान्ति सेनाका मिसनहरूको एक वर्षको बजेट (सन् २०२७ जुलाई १ सम्म)का लागि ५ अर्ब १० करोड अमेरिकी डलर स्वीकृत गरेको छ । राष्ट्रसंघको सूचना केन्द्रका अनुसार गत वर्ष यो रकम ५ अर्ब ३८ करोड डलर थियो ।

सदस्य राष्ट्रहरूले आफ्नो प्रतिबद्धताअनुसार रकम भुक्तानी नगरेका कारण संकलन हुन नसकेको २ अर्ब डलरभन्दा बढीको बक्यौताका कारण शान्ति स्थापक मिसनहरू गम्भीर वित्तीय अभावबाट गुज्रिन पुगेको राष्ट्रसंघले जनाएको छ । यस वर्षको बजेट गत वर्षको तुलनामा ९ दशमलब ७ प्रतिशत कम हो ।

विगत ७५ वर्षदेखि शान्ति स्थापक मिसनमा खर्च नभएको रकम सदस्य राष्ट्रहरूलाई उनीहरूको योगदानका आधारमा फिर्ता गरिँदै आएको थियो । अब त्यसो नगर्ने निर्णय भएको छ । राष्ट्रसंघको पाँचौँ कमिटीले यो परम्पराको अन्त्य गरिदिएको राष्ट्रसंघले जनाएको छ । अब सन् २०२७ मा नियमित बजेट र शान्ति स्थापना कार्यहरूमा गरी करिब १.३ अर्ब डलर फिर्ता गर्नुनपर्ने भएको छ । ‘क्रेडिट–रिटर्न मेथोडोलोजी’ नामक प्रस्ताव पारित भएसँगै अब चार वर्षको परीक्षण अवधिका लागि नयाँ कार्यविधि लागू भएको छ । अब खर्च नभएको रकम सदस्य राष्ट्रहरूलाई ‘नगद ब्याकअप भएको अवस्थामा मात्र’ (अर्थात् संगठनले प्राप्त गरेको भुक्तानीभन्दा कम खर्च गरेको अवस्थामा मात्र) फिर्ता गरिनेछ,’ राष्ट्रसंघले भनेको छ ।

तर, यस परिवर्तनले सदस्य राष्ट्रहरूलाई उनीहरूको बक्यौता पूर्ण र समयमै तिर्नुपर्ने आधारभूत दायित्वबाट मुक्त नगर्ने भनिएको छ । राष्ट्रबैंकको कन्ट्रोलर सचिवालयका अनुसार १२ महिनाभन्दा कम अवधिमा १ अर्ब २० करोड डलर फिर्ता गर्नुपर्ने अवस्था अब रहनेछैन । ‘नयाँ नियमअनुसार आगामी १२ महिनामा करिब ३२ करोड डलर मात्र फिर्ता गर्नुपर्नेछ, जसले प्रभावकारी रूपमा १ अर्ब २० करोड डलरभन्दा बढीको अतिरिक्त तरलता प्रदान गर्दछ,’ राष्ट्रसंघले भनेको छ ।

अब राष्ट्रसंघीय शान्ति मिसनमा केही परिवर्तन आएको छ । राष्ट्रसंघीय सूचना केन्द्रका अनुसार सन् २०२७ देखि लेबनानबाट शान्ति सैनिक फिर्ता हुनेछन्, दक्षिण सुडानमा सन् २०२७ सम्म तथा साइप्रसमा सन् २०२७ को जनवरीसम्म मिसनहरूको अवधि थप भएका छन् ।

लेबनानमा सन् २०२६ डिसेम्बर ३१ मा कार्य सञ्चालन अवधि समाप्त हुनेछ । लेबनान मिसनले सन् २०२७ भित्र करिब ८,२०० सैन्य कर्मचारीहरूलाई चरणबद्ध रूपमा फिर्ता गर्नेछ र त्यहाँका स्थानहरू लेबनानी अधिकारीहरूलाई हस्तान्तरण गर्नेछ ।

कुन मिसनमा कति नेपाली सैनिक ? 
राष्ट्रसंघ मुख्यालयदेखि नौ मिसनमा कुल चार हजार ९० नेपाली सैनिक खटिएका छन् । सेन्ट्रल अफ्रिकन रिपब्लिक (कार) मिसनमा नेपाली सेनाको सबैभन्दा ठुलो उपस्थिति छ । दुई बटालियन तथा एक सैनिक प्रहरीको कम्पनीसमेत गरी जम्मा एक हजार ७२ जना सैनिक कार्यरत छन् । त्यस्तै, दक्षिण सुडानमा रहेको मिसनमा पनि दुई बटालियन र एक कम्पनी गरी एक हजार ४६ सैनिक खटिएका छन् । कंगोमा रहेको मिसनमा एक बटालियन, एक इन्जिनियर कम्पनी तथा एउटा क्विक रियाक्सन फोर्ससमेत जम्मा ९६९ सैनिक तैनाथ छन् । लेबनानमा पनि एउटा बटालियन तथा सैन्य पर्यवेक्षक र स्टाफ अधिकृतसमेत जम्मा ५५३ सैनिक खटिएका छन् । लेबनानबाट यो वर्ष अन्तिम (डिसेम्बर) देखि शान्ति सैनिक मिसन बन्द गर्ने राष्ट्रसंघको निर्णय छ । सिरियामा मुख्यालयको सुरक्षा गर्ने कम्पनी, इन्जिनियर प्लाटुन तथा लेभल एक अस्पतालका स्वास्थ्यकर्मी सैनिकसमेत जम्मा २४७ नेपाली सैनिक खटिएका छन् । त्यस्तै, लिबियाको विशेष गार्ड एकाइमा १६७ सैनिक र एक स्टाफ अधिकृत गरी कुल १६८ कार्यरत रहेको सेनाले जनाएको छ । यसबाहेक अबेई सुडान, इजरायल, संयुक्त राष्ट्रसंघीय मुख्यालयमा खटिएका स्टाफ अधिकृत र पर्यवेक्षकको संख्या ३५ छ ।

शान्ति मिसनको ६८ वर्षमा ७४ नेपाली सैनिकको गुम्यो ज्यान 
२९ मंसिर ०१२ मा नेपालले संयुक्त राष्ट्रसंघको सदस्यता प्राप्त गरेको थियो भने ३० जेठ ०१५ मा लेबनानस्थित युनाइटेड नेसन्स अब्जर्भर ग्रुप इन लेबनान मिसनमा पाँच सदस्यीय नेपाली सैनिक पर्यवेक्षक पहिलोपटक खटिएका थिए । ०३१ मा संयुक्त राष्ट्रसंघको आह्वानमा नेपाली सेनाको पहिलो युनिटको रूपमा श्री पुरानो गोरख गण इजिप्टस्थित शान्ति मिसनमा तैनाथ भएको थियो । हालसम्म एक लाख ६५ हजार ६६२ नेपाली शान्ति सैनिकले राष्ट्रसंघका ४४ मिसनमा सहभागिता जनाएका छन् । यो अवधिमा ७४ नेपाली सैनिकले ज्यान गुमाएका छन् भने ७७ घाइते भएका छन् । 

सुझावित समाचार