सल्यानमा ६ वटा भरुवा बन्दुक बरामद

सोमबार, ४ साउन, २०८३
डिजिटल संस्करण

जिल्ला प्रहरी कार्यालय सल्यानले जिल्लाका दुई स्थानबाट बेवारिसे अवस्थामा लुकाइराखिएका ६ नाल अवैध भरुवा बन्दुक बरामद गरेको छ।

बनगाड कुपिन्डे नगरपालिका– १२ स्थित भदाले सामुदायिक वनबाट चार नाल  र छत्रेश्वरी गाउँपालिका– १ स्थित जुगेखोला सामुदायिक वनबाट दुई नाल अवैध भरुवा बन्दुक फेला परेको प्रहरीले जनाएको छ।

लुकाइराखिएको भन्ने गोप्य सूचनाका आधारमा खोजतलास गर्ने क्रममा अवैध भरुवा बन्दुक फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक तथा सूचना अधिकारी देवराज भट्टराईले जानकारी दिए। बरामद गरिएका भरुवा बन्दुक कसले र कहिले लुकाइराखेको भन्ने विषयमा अनुसन्धान भइरहेको उनको भनाइ छ।

प्रहरीले अवैध हातहतियारको प्रयोग तथा ओसारपसार नियन्त्रणका लागि जिल्लाभर निगरानी बढाइएको जनाएको छ। गोप्य सूचनाका आधारमा सञ्चालन गरिएको खोजतलास अभियानका क्रममा उक्त बन्दुकहरू बरामद भएको प्रहरीको भनाइ छ।

जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी तथा प्रहरी निरीक्षक देवराज भण्डारीले अवैध हातहतियार नियन्त्रणका लागि प्रहरीको अभियान निरन्तर जारी रहने बताउँदै यस्ता गतिविधिबारे जानकारी भए तत्काल प्रहरीलाई सूचना दिन सर्वसाधारणसँग आग्रह गरेका छन्।
 

सुझावित समाचार