च्याउ, पटपुरालगायतका जंगली तरकारी टिप्नका लागि शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज (वनजंगल) पसेका कञ्चनपुरका २० महिला सम्पर्कविहीन भएका छन्। आइतबार बिहान करिब ११ बजेतिर च्याउ, पटपुरा टिप्नका लागि निकुञ्ज प्रवेश गरेका उनीहरू दुई दिनदेखि सम्पर्कमा नआएका हुन्।
वर्षातको समयमा पाइने च्याउ, पटपुरालगायतका तरकारीको जोहो गर्न जंगल पसेका बेलडाँडी, बेदकोट र भीमदत्त नगरपालिकाका महिला हराएका हुन्।
बेलडाँडी गाउँपालिका– २, कालिकिचका तीनजना, बेदकोट नगरपालिका– १०, चतहरी नयाँ गाउँका तीनजना र भीमदत्त नगरपालिका– १९, बागफाँटाका १४ जना महिला सम्पर्कविहीन भएपछि परिवारले खोजीका लागि आग्रह गरेका छन्।
वर्षातका वेला वनमा पाइने पटपुरा, च्याउ, जिब्रेलगायतका तरकारी संकलन गर्न उनीहरू समूह–समूह बनाएर निकुञ्ज प्रवेश गरेका थिए। भीमदत्त नगरपालिका– १९ का वडाध्यक्ष जगुराम चौधरीका अनुसार बागफाँटाका महिला मालुबेला पोस्ट हुँदै निकुञ्ज प्रवेश गरेका थिए।
कतिपय महिलाले मोबाइल नबोकेको र मोबाइल बोकेकाहरूको पनि नेटवर्क नलागेको, वर्षाका कारण ब्याट्री सकिएकाले खोजी कार्यमा समस्या भइरहेको वडाध्यक्ष चौधरीले बताए।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका सूचना अधिकारी डिएसपी टेकबहादुर रावतले निकुञ्जको जंगलमा हराएका महिलाहरूको खोजी भइरहेको जानकारी दिए। उनका अनुसार नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना, निकुञ्जका कर्मचारी तथा स्थानीयवासी मिलेर खोजी गरिरहेका छन्।
सन्तान र परिवारका लागि तरकारीको जोहो गर्न जोखिम मोलेर जंगल पसेका आमाहरू घर नफर्किएपछि दुधेबालकदेखि परिवारका अन्य सदस्यसमेत चिन्तित बनेका छन्। आर्थिक अवस्था कमजोर भएका परिवारहरू तरकारीका लागि समेत वनमै निर्भर हुँदा यस्तो जोखिम सामना गर्न बाध्य भएका छन्।