हिमालयन रिलाई नयाँ व्यवसाय गर्न बाटो खुला

सुधारका लागि अध्ययन जारी

सोमबार, ४ साउन, २०८३
डिजिटल संस्करण

नियामक निकाय नेपाल बिमा प्राधिकरणले कारबाहीलाई निरन्तरता नदिएपछि हिमालयन रि–इन्स्योरेन्सले अब नयाँ पुनर्बिमा व्यवसाय गर्न पाउने भएको छ । प्राधिकरणबाट कारबाहीको अवधि थप नभएपछि हिमालयन रिले १ साउनदेखि नै नयाँ पुनर्बिमा व्यवसाय गर्न सुरु गरेको हो । 

प्राधिकरणले ३१ वैशाखमा सूचना जारी गर्दै हिमालयन रिलाई असार मसान्तसम्मका लागि नयाँ पुनर्बिमा व्यवसाय गर्न रोक लगाएको थियो । ‘बिमक हिमालयन रिइन्स्योरेन्स लिमिटेडलाई पुनर्बिमा दाबी भुक्तानी गर्ने कार्य र यसअघि भए गरेका पुनर्बिमा व्यवसायका लागि रेट्रोसेसन गर्ने कार्यबाहेक आर्थिक वर्ष ०८२/८३ को असार मसान्तसम्म नयाँ पुनर्बिमा व्यवसाय गर्न बिमा ऐन, २०७९ को दफा १३६ को उपदफा (१) बमोजिम रोक लगाइएको व्यहोरा प्राधिकरणको मिति ०८३/०१/२९ को निर्णयानुसार सम्बन्धित सरोकारवालामा सूचित गरिन्छ,’ ३१ वैशाखको सूचनामा भनिएको थियो । त्यो कारबाहीलाई प्राधिकरणले निरन्तरता नदिएपछि कम्पनीलाई नयाँ व्यवसाय गर्न बाटो खुला भएको हो । 

प्राधिकरणका एक अधिकारीले हिमालयन रिको कारबाहीलाई निरन्तरता नदिएको बताए । ‘हिमालयन रिलाई असार मसान्तसम्मको म्याद राखेर नयाँ व्यवसायमा रोक लगाएका थियौँ । त्यो अवधि सकिएको छ । अवधि सकिएसँगै कम्पनीले स्वतः रूपमा नयाँ व्यवसाय गर्न पाएको छ,’ स्रोतले भन्यो, ‘पहिला अवधि नै तोकेर कारबाही गरेका कारण थप निर्णय गर्नुनपरेको हो ।’ 

हिमालयन रिकी सूचना अधिकारी लक्ष्मी ढकाल भन्छिन्— साउन १ गतेदेखि नै नयाँ व्यवसाय गर्न सुरु गरिसकेका छौँ । हामीलाई गत असार मसान्तसम्मको अवधि राखेर नयाँ पुनर्बिमा व्यवसायमा प्रतिबन्ध लगाइएको थियो । त्यहीअनुसार हामीले असारसम्म नयाँ व्यवसाय गरेका थिएनाैँ। असार मसान्तपछिको हकमा प्राधिकरणबाट थप सूचना तथा निर्देशन आएन, त्यसपछि हामीले नयाँ व्यवसाय गर्न सुरु गरेका छौँ ।

कम्पनीलाई नयाँ व्यवसायमा थप प्रतिबन्ध लगाउनुपरेको भए सञ्चालक समितिबाट निर्णय गर्नुपर्ने थियो । कारबाही निरन्तर गर्नुनपर्ने भएका कारण यसमा थप निर्णय नगरेको स्रोतको भनाइ छ । हिमालयन रिकी सूचना अधिकारी लक्ष्मी ढकालले साउन १ गतेदेखि नै नयाँ व्यवसाय गर्न सुरु गरेको बताइन् । ‘हामीलाई गत असार मसान्तसम्मको अवधि राखेर नयाँ पुनर्बिमा व्यवसायमा प्रतिबन्ध लगाइएको थियो । त्यहीअनुसार हामीले असारसम्म नयाँ व्यवसाय गरेका थिएनाँै । असार मसान्तपछिको हकमा प्राधिकरणबाट थप सूचना तथा निर्देशन आएन,’ उनले भनिन्, ‘त्यसपछि हामीले १ साउनदेखि नै नयाँ व्यवसाय गर्न सुरु गरेका छौँ ।’

मुख्यतः विवादास्पद व्यवसायी दीपक भट्टको अनियमिततामा सहयोग गरेपछि हिमालयन रिका सञ्चालक र व्यवस्थापनविरुद्ध मुद्दा चलेको छ । हिमालयन रिमा भट्टको इन्फिनिटी होल्डिङ्सको ४.५० प्रतिशत सेयर हिस्सा अर्थात् ४६ लाख ८० हजार कित्ता सेयर छ । भट्टले दोस्रो बजारबाट नेपाल रि–इन्स्योरेन्सलगायतका कम्पनीको सेयर किन्न विभिन्न मितिमा हिमालयन रिबाट दुई अर्ब ७३ करोड ३३ लाख १५ हजार लगेका थिए । तर, त्यो रकम असुलीमा कम्पनीको सञ्चालक र व्यवस्थापनले असहयोग गरेको थियो । यसमा अनुसन्धान अघि बढेपछि नियामक निकाय प्राधिकरणले गत वैशाखमा नयाँ व्यवसायमा रोक लगाएको थियो ।

सरकारले गत १८ जेठमा योसहित विभिन्न चार मुद्दामा दीपक भट्टसहित ९१ जनाविरुद्ध जिल्ला, उच्च र विशेष अदालतमा मुद्दा दर्ता भएका छन् । ३० अर्बहाराहारीको कुल बिगोमा दीपक भट्टसँग मात्रै २६ अर्ब ६३ करोड बिगो दाबी गरिएको छ । इतिहासकै ठुलो वित्तीय अपराध मानिएको यसमा हिमालयन रिका साधारण सेयरधनी भट्टसहित पूर्वअध्यक्ष शेखर गोल्छा, सिइओ उपासना पौडेलसहित अमित मोर, साहिल अग्रवाल, रोहित गुप्ता, राजीव मोर, शुभेच्छा खरेल, सुभाषकुमार झुनझुनवाला, मनीषकुमार र दीपककुमार श्रेष्ठविरुद्ध संयुक्त रूपमा दुई अर्ब ७३ करोड ३३ लाख संयुक्त बिगो कायम गरी मुद्दा लगाइएको छ । मुद्दा चलेसँगै उनीहरू निलम्बनमा परेका छन् ।

अहिले कम्पनीको अध्यक्षमा उदयकुमार निरौला, दीपेन्द्रकुमार मिश्र, पृथ्वीराज थापा, आशिषचन्द्र न्यौपाने र सागरप्रसाद मुल्मी छन् । सिइओलगायतका उच्चपदस्थ पद भने रिक्त छ । सर्वसाधारणको समेत अर्बाँै लगानी भएको कम्पनी संकटमा परेको छ । त्यसमाथि व्यवसायमा प्रतिबन्धलाई निरन्तरता दिँदा सर्वसाधारणको लगानी जोखिममा भएपछि कारबाहीलाई निरन्तरता नदिएको प्राधिकरणको भनाइ छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत पब्लिक कम्पनी हिमालयन रिमा सर्वसाधारणको तीन करोड २६ लाख चार हजार कित्ता सेयर छ ।

शुक्रबार कम्पनीको सेयर मूल्य प्रतिकित्ता ५८१.९० रुपैयाँ छ । त्योअनुसार सर्वसाधारणको लगानीको सेयर भ्यालु १८ अर्ब ८७ करोड ६८ लाख रुपैयाँ छ । सञ्चालक र उच्चपदस्थ कर्मचारीविरुद्ध मुद्दा चलेपछि संकटग्रस्त अवस्थामा पुगेको हिमालयन रि इन्स्योरेन्स कम्पनीलाई सुधार गर्न प्राधिकरणको अध्ययन भने जारी छ । व्यवस्थापन नियन्त्रणमा लिने, नयाँ व्यवस्थापन नियुक्ति गर्नेलगायतका विकल्पमा प्राधिकरणले अध्ययन अघि बढाएको हो । सोही अध्ययनको निष्कर्ष तथा सुझावका आधारमा हिमालयन रि इन्स्योरेन्स सुधारका लागि उचित निर्णय लिने तयारीमा प्राधिकरण छ ।

प्राधिकरणले विभिन्न आधारमा टेकेर बिमा ऐन, २०७९ को दफा १०१ अनुसार बिमा कम्पनीलाई समस्याग्रस्त घोषणा गर्न सक्नेछ । पहिलो चरणमा कम्पनीसँग सुधारका योजना माग गर्ने तयारीमा प्राधिकरण छ । हिमालयन रि हिल्टन होटेलको पुनर्बिमा दाबीको घोटलामा पनि विवादमा छ । 

सुझावित समाचार