पहिलो राष्ट्रिय महाधिवेशनबाट नयाँ नीति र नेतृत्व अनुमोदन गरेको राष्ट्रिय स्वतन्त्र पार्टीका पदाधिकारी संशोधित विधानअनुरूप दस्ताबेज लेखनमा जुटेका छन् । महाधिवेशनले विधानमा व्यापक हेरफेर गरेको छ । विधानमा भएको संशोधनअनुसार कार्यविधि र नियमावली लेखन भइरहेको महामन्त्री विपिनकुमार आचार्यले बताए ।
‘पहिला त हामी जति पनि कार्यविधि र नियमावली नयाँ बनाउनुपर्ने, संशोधन गर्नुपर्नेछ, त्यो काम गर्दै छौँ । चाहे त्यो बैठक सञ्चालन कार्यविधि होला, पार्टी सदस्यता प्रमाणीकरण गर्ने कार्यविधि होला । विभागहरूको कार्यविधि छ । अथवा अस्तिको विधानभन्दा अगाडिसम्म पार्टीको संरचनामा परिषद्का कुराहरू थिए । अहिले हामीले बुथ र टोल समितिलाई बढी इन्स्ट्रुमेनलाइज गरेका छौँ । पहिला ३९ वटा विभाग थियो, अहिले ३० भन्दा तल झारेका छौँ,’ आचार्यले भने । उनका अनुसार अभिमुखीकरणको मोडल पनि लेखिँदै छ ।
‘त्यो सकेपछि पार्टीका फन्डामेन्टल काममा लाग्छौँ । एउटा त सरकारलाई कसरी सफल बनाउने, युनाइटेड स्ट्रेट बिल्डअप गरेर राइट डिरेक्सनमा कसरी पुस गर्ने ? दोस्रो, १८२ जना संसदहरू सरकारमा बाहेक भएका र सभामुखबाहेकको जुन नम्बर छ, त्यो नम्बरलाई पब्लिकले हामीलाई जे भनेर भोट दिएर पठाएका हुन्, संसद्मा त्यो ओझपूर्ण प्रस्तुति संसद्लाई त्यो भाइब्रेन्ट स्पेस कसरी बनाउने ? तेस्रो, स्थानीय र प्रदेशको निर्वाचनमा सही नतिजा ल्याउने गरी पार्टीपंक्ति व्यक्तिलाई देशैभरि कसरी ड्राइभ गर्ने र त्यो उम्मेदवार छनोट रूपरेखा जुन छ, त्योसँग प्रत्यक्ष जोडिएको क्यान्डिडेट क्लब, लिडरसिप एकेडेमी र क्यान्डिडेट सेलेक्सन प्रोसेसलाई देशैभरि कसरी इन्कर्पोरेट गर्ने ?’ उनले भने ।
महामन्त्री आचार्यले सबै दस्ताबेज तयार पारेर आगामी स्थानीय र प्रदेशको चुनावमा स्पष्ट सन्देशका साथ जाने पनि बताए । ‘०८४ को निर्वाचनमा जाँदै गर्दा बाइडिफल्ट हामी त्यो ३५ हजार प्लस क्यान्डिडेट सेलेक्ट गर्ने अथवा उहाँहरूलाई जिताउने कन्टेक्स्टमा ६ हजार ७४३ वडामै जानुपर्ने स्थितिमा केही महिनामा हाम्रा डकुमेन्टलाई फाइनल गर्ने काम गर्छौँ । र, त्यो डकुमेन्टको भ्यालुज बोकेर फेरि नागरिकमा पुगेर हामी यस्तो पार्टी हो है, जसले बुझ्नुभएको छैन, जसलाई हामीसँग जोडिएका केही कुराहरूमा कन्फ्युजन छ, त्यो कन्फ्युजन क्लियर गर्ने हिसाबले नागरिककहाँ पुग्छौँ,’ उनले भने ।
महामन्त्री आचार्यले संवैधानिक समाजवादबाट सामाजिक लोकतन्त्रमा रूपान्तरणको व्यावहारिक रूपमा जनतालाई बुझाउन दस्ताबेजीकरणको काम भइरहेको बताए । ‘हामीले संवैधानिक समाजवादलाई सामाजिक लोकतन्त्रले रिप्लेस गरेको हो । तर, सामाजिक लोकतन्त्रको तन्तुतन्तुलाई मिहीन ढंगले एउटा एउटा भ्यालिडेट डकुमेन्ट बनाएर एदेखि जेडसम्मको स्पेक्ट्रमको नागरिकहरूले बुझ्ने गरी काम गर्दै छौँ,’ उनले भने ।
पदाधिकारी मनोनीत चाँडै
रास्वपाको चितवनमा सम्पन्न महाधिवेशनले प्रत्यक्षतर्फका पदाधिकारी निर्वाचित गरेको थियो । रास्वपाको विधानअनुसार १२ जना पदाधिकारी (वरिष्ठ नेता, उपसभापति, महामन्त्री, सहमहामन्त्री दुई, कोषाध्यक्ष, सहकोषाध्यक्ष दुई, प्रवक्ता, सहप्रवक्ता तीन) र ५१ केन्द्रीय सदस्य सभापतिले मनोनीत गर्ने व्यवस्था छ । महामन्त्री आचार्यले चाँडै बैठक बसेर पदाधिकारीसहित केन्द्रीय समितिलाई पूर्णता दिने बताए । ‘पदाधिकारी मनोनीत चाँडै हुन्छ,’ उनले भने ।
पार्टीको विभाग र अन्य संरचनालाई पूर्णता दिने काम पनि भइरहेको आचार्यले बताए । उनका अनुसार नवनिर्वाचित केन्द्रीय सदस्यलाई अभिमुखीकरण दिने योजना पनि बनिरहेको छ । ‘त्यो योजना बन्दासम्म मनोनीत पनि सकिसक्छ,’ उनले भने, ‘सबैजनालाई एकैसाथ अभिमुखीकरण हुन्छ ।’ महामन्त्री आचार्यका अनुसार नवनिर्वाचित केन्द्रीय समितिको बैठक पनि आउँदो साता बस्ने गरी गृहकार्य भइरहेको छ । त्यही वेला सभापति रवि लामिछानेले मनोनीतहरूको नाम बैठकमा पेस गर्न सक्छन् ।
कसरी हुन्छ मनोनीत ?
रास्वपाले निर्वाचित केन्द्रीय समितिमा ५१ प्रतिशत महिला प्रतिनिधित्व गरेको छ । तर, क्लस्टरको प्रश्न उठिरहेको छ । महामन्त्री आचार्यले निर्वाचनबाट छानिएर आएका व्यक्तिबाहेक महाधिवेशनअगाडिको समायोजनको विशिष्ट स्पिरिटलाई मनोनीत गर्दा प्राथमिकता दिइने बताए । महामन्त्री आचार्यले मनोनीतमा देशको विशिष्टतालाई बढी ध्यान दिइने पनि बताए । ‘चाहे त्यो महिला सहभागिता होस्, चाहे त्यो समावेशी प्रतिनिधित्वको कुरा होला, चाहे त्यो समाजलाई योगदान गरेका व्यक्तिको कुरा होला अथवा चाहे त्यो समाजबाट उपेक्षित वर्गहरूलाई प्रतिनिधित्व गर्ने कुरा होला । मनोनयन गर्दा निर्वाचित प्रक्रियाबाट मिसिङ प्लगहरूलाई अझ बढी सम्बोधन गर्नुपर्छ,’ उनले भने ।
सभापतिले गर्ने मनोनयनले तीनटा कुरालाई ध्यान दिनुपर्ने उनको भनाइ छ । तत्कालीन बालेन्द्र शाह समूह, विवेकशील साझा, लुम्बिनी, कर्णाली र सुदूरपश्चिममा थरुहटबाट आएका, कुलमान घिसिङको उज्यालो नेपाल पार्टीबाट आएका सबैलाई समेट्नुपर्ने मनोनयनको एउटा स्पिरिट भएको आचार्यले सुनाए ।
दोस्रो, रास्वपाले महिलाहरूको कम्पोजिसनको हकमा डबल ह्याट्रिक गरेको छ । ‘हामी ५१ प्रतिशतमा पुगेका छौँ । तर, समावेशी समूहको प्रतिनिधित्वको प्रश्न छ । हामीले मनोनयनमा याद गर्नुपर्ने भनेको त्यो समावेशी स्पिरिटलाई यो अर्थमा कसरी गर्ने भन्ने हो,’ उनले भने । तेस्रो, रास्वपा स्थापना हुँदै गर्दा संस्थापक २१ जनाको केन्द्रीय समितिमा बसेर काम गरेकामध्ये केहीलाई समेट्नुपर्ने बाध्यता रहेको उनले सुनाए ।
‘समायोजन, समावेशिता, पार्टीको सुरुवातदेखि पछाडि बसेका साथीहरू समेट्नुपर्ने र समाजले रुचाएका केही व्यक्तिहरूलाई पनि समेट्ने स्पिरिटको कलेक्टिभ छान्ने प्रक्रिया सभापतिज्यूका लागि त्यति सहज पक्कै पनि होइन । त्यसैले अर्को दुई हप्ता समय लिएर पार्टीलाई राइट स्पिरिटमा लैजाने निर्णय होस् भन्छु । सभापतिज्यूले सबै चिजहरूको स्पिरिटलाई सम्बोधन गरेर सूची बनाएपछि केन्द्रीय समितिले अनुमोदन गर्छ,’ उनले भने ।
महामन्त्री विपिन आचार्य भन्छन् –०८४ को निर्वाचनमा जाँदै गर्दा बाइडिफल्ट हामी त्यो ३५ हजार प्लस क्यान्डिडेट सेलेक्ट गर्ने अथवा उहाँहरूलाई जिताउने कन्टेक्स्टमा ६ हजार ७४३ वडामै जानुपर्ने स्थितिमा केही महिनामा हाम्रा डकुमेन्टलाई फाइनल गर्ने काम गर्छौँ । र, त्यो डकुमेन्टको भ्यालुज बोकेर फेरि नागरिकमा पुगेर हामी यस्तो पार्टी हो है, जसले बुझ्नुभएको छैन, जसलाई हामीसँग जोडिएका केही कुराहरूमा कन्फ्युजन छ, त्यो कन्फ्युजन क्लियर गर्ने हिसाबले नागरिककहाँ पुग्छौँ ।