भारतको लुधियानाबाट चोरी भएका गरगहना कञ्चनपुरमा बरामद

आइतबार, ३ साउन, २०८३
डिजिटल संस्करण

भारतको लुधियानाका एक व्यक्तिको घरबाट चोरी गरेर नेपालको कञ्चनपुुर दोधाराचाँदनी पुर्याइएका गरगहना प्रहरीले नियन्त्रणमा लिएको छ। तीन दिनअघि भारत पञ्जाब राज्यको लुधियानाबाट चोरी भएका बहुमूल्य गरगहना इलाका प्रहरी कार्यालय दोधाराचाँदनीले गत बिहीबार नियन्त्रणमा लिएको हो।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका सूचना अधिकारी टेकबहादुर रावतका अनुसार दोधाराचाँदनी– ९ का एक स्थानीयको घरनजिकै लुकाएर राखेको अवस्थामा ३७ प्रकारका गरगहना र ६ वटा महँगा घडी बरामद गरिएको छ। चोरीमा संलग्न व्यक्तिको खोजीकार्य भइरहेको बताउँदै उनले उक्त गरगहनाका विषयमा भारतीय प्रहरीसँग समेत समन्वय भइरहेको बताए।

लुधियानाको एक घरबाट ती गरगहना चोरी भएको बताइएको छ। उक्त घरमा काम गर्दै आएकी दोधाराकी एक युवतीका अनुसार उनका दुईजना आफन्तले सुनचाँदी र हिरालगायत विभिन्न धातुका गरगहना चोरी गरेर नेपाल आएका थिए। युवतीकै सूचना तथा घरधनीको उजुरीका आधारमा खानतलासी गर्दा नेपाल प्रहरीले गरगहना बरामद गरेको हो।

बरामद गरिएको सामान सम्बन्धित भारतीय नागरिकलाई कञ्चनपुर बोलाएरै हस्तान्तरण गरिने प्रहरीले जनाएको छ।

सुझावित समाचार