खोटाङमा शनिबार साँझ परेको अविरल वर्षापछि खहरे खोलामा आएको बाढीले बगाउँदा दुईजनाको मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालय खोटाङका अनुसार मृत्यु हुनेमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका– ६, नेर्पाकी ४३ वर्षीया शान्ता राई र केपिलासगढी गाउँपालिका– ४, बाक्सिलाका ७१ वर्षीय पर्शुराम परियार रहेका छन्।
प्रहरीका अनुसार आफन्तको घर गएकी शान्ता राई समयमै घर नफर्किएपछि खोजी गर्ने क्रममा उनी खोलामा मृत अवस्थामा फेला परेकी थिइन्। यस्तै, गाईखुरे खोल्सीमा आएको बाढीले बगाउँदा पर्शुराम परियार बेपत्ता भएका थिए। खोजतलासका क्रममा उनको शव घटनास्थलबाट करिब एक सय मिटर तल फेला परेको प्रहरीले जनाएको छ।
दुवै शवको पोस्टमार्टम प्रक्रिया पूरा गरी आफन्तलाई बुझाउने तयारी भइरहेको प्रहरीले जनाएको छ।