- गत आव ०८२/८३ मा श्रम स्वीकृति लिएर सात लाख ९२ हजार नेपाली वैदेशिक रोजगारीका लागि बाहिरिए
- रोजगारीको भर खाडी मुलुकमै, सबैभन्दा धेरै युएईमा एक लाख ८३ हजार श्रमिक गए
वैदेशिक रोजगारमा जाने नेपाली श्रमिकको संख्या ५.६० प्रतिशतले घटेको छ । वैदेशिक रोजगार विभागका अनुसार गत आर्थिक वर्ष ०८२/८३ मा कुल सात लाख ९२ हजार एक सय ८७ नेपाली सयभन्दा बढी मुलुकमा श्रम स्वीकृति लिएर रोजगारीका लागि पुगेका छन् । यो संख्या अघिल्लो आव ०८१/८२ को तुलनामा ४७ हजार ७९ ले कम हो ।
विभागका अनुसार आव ०८१/८२ मा आठ लाख ३९ हजार दुई सय ६६ नेपाली श्रम स्वीकृति लिएर रोजगारीमा गएका थिए । लामो समयपछि श्रमका लागि विदेश जाने नेपालीको संख्यामा कमी आएको विभागको भनाइ छ । असारमा मात्रै ६९ हजार तीन सय ६२ नेपाली श्रमका लागि एक सय मुलुक पुगेको विभागको तथ्यांक छ । वैदेशिक रोजगारीमा रहेका नेपालीले बैंकिङ च्यानलमार्फत नेपाल पठाउने रकममा सुधार आइरहेका कारण रेमिट्यान्स आप्रवाह पनि बढ्दै गएको छ ।
विभागको तथ्यांकअनुसार गत आवको वैशाखमा सबैभन्दा बढी ७४ हजार चार सय २९ र सबैभन्दा कम फागुनमा ५२ हजार नौ सय ४४ श्रमिक बिदेसिएका थिए । विभागका अनुसार साउनमा ६८ हजार एक सय १०, भदौमा ६७ हजार नौ सय ७२, असोजमा ६४ हजार ६ सय ३४, कात्तिकमा ७३ हजार ९४ र मंसिरमा ६५ हजार सात सय पाँच युवा श्रमका लागि बिदेसिएका थिए । त्यसैगरी, पुसमा ६२ हजार पाँच सय ५९, माघमा ७० हजार पाँच सय तीन, चैतमा ६१ हजार, आठ सय १९, जेठमा ६१ हजार ७२ र असारमा ६९ हजार तीन सय ६२ युवा रोजगारी खोज्दै विभिन्न मुलुक पुगेको तथ्यांक छ । गत वर्ष बिदेसिएकामध्ये ६ लाख ९७ हजार ९६ पुरुष र ९५ हजार ९१ महिला रहेको विभागले जनाएको छ ।
सिप सिकेर जानेको संख्या बढ्दै
गत आवमा सिप सिकेर विदेशमा श्रम गर्न जानेको संख्या सबैभन्दा बढी छ । वैदेशिक रोजगार विभागका अनुसार गत आवमा चार लाख ८२ हजार ६ सय ४३ दक्ष श्रमिक विभिन्न देशमा रोजगारीका लागि गएका छन् । त्यस्तै, अदक्ष श्रमिक एक लाख ९० हजार दुई सय ६४ र अर्धदक्ष श्रमिक एक लाख १४ हजार ६ सय १४ रहेका छन् । निश्चित पेसागत क्षमता भएका तीन हजार पाँच सय ७० र उच्च दक्षता भएका एक हजार ९६ जनशक्ति पनि रोजगारीका लागि बाहिरिएको विभागको तथ्यांक छ ।
खाडी मुलुककै बाहुल्य, तर युरोपमा बढ्दो आकर्षण
तुलनात्मक रूपमा बढी आम्दानी हुने र सुविधाजनक जीवनशैली अपनाउन पाइने भएकाले युरोपियन देशहरूमा नेपाली श्रमिकको आकर्षण बढ्दै गएको छ । श्रमिकको रोजाइमा पर्ने १० मुलुकको सूचीभित्रै रोमानिया र साइप्रस छन् । गत आवमा रोमानियामा ३३ हजार नौ सय २० र साइप्रसमा ११ हजार ६९ नेपाली श्रमिक पुगेका छन् ।
क्रोएसियामा सात हजार ६ सय ६२, टर्की ६ हजार तीन सय ७०, मोरिससमा ६ हजार तीन सय ३४, माल्टामा ६ हजार एक सय १०, पार्चुगलमा तीन हजार आठ सय, सर्बियामा तीन हजार सात सय ८८, बुल्गेरियामा तीन हजार ६ सय ७९ र ग्रिसमा तीन हजार एक सय २६ जना श्रम स्वीकृति लिएर पुगेका छन् । यसबाहेक पोल्यान्ड, अस्ट्रिया, स्लोभाकिया, मोल्डोभा, बेलायतलगायतका युरोपियन देशमा नेपाली श्रमिक पुग्ने गरेका छन् ।
वैदेशिक रोजगारीका लागि अझै पनि नेपाली श्रमिकहरू खाडी मुलुकमै निर्भर छन् । गत वर्ष धेरै नेपाली श्रमका लागि पुगेका देशहरूको सूचीमा क्रमशः युएई, मलेसिया, कतार, साउदी अरब र कुवेत पहिलोदेखि पाँचौँ स्थानमा छन् । युएईमा सबैभन्दा बढी एक लाख ८३ हजार पाँच सय ८०, मलेसियामा एक लाख ३२ हजार ६ सय ४६, कतारमा एक लाख ३२ हजार ५१, साउदी अरबमा एक लाख २४ हजार पाँच सय ८३ र कुवेतमा ४३ हजार तीन सय ६० नेपाली श्रमिक पुगेका छन् ।