विपत् अपडेट : १० राजमार्ग बन्द (सूचीसहित)

शनिबार, २ साउन, २०८३
डिजिटल संस्करण

अविरल वर्षासँगै आएको बाढीपहिरोका कारण देशका १० सडक तथा राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएका छन्। 

नेपाल प्रहरीले शनिबार राति विवरण सार्वजनिक गर्दै कोशी, बागमती, गण्डकी र लुम्बिनीमा सडक तथा राजमार्ग अवरुद्ध भएको जनाएको छ। प्रहरीले अत्यावश्यक कामबाहेक यात्रा नगर्न र यात्रा गर्नुअघि सडकको अवस्था बुझ्न आग्रह गरेको छ।

कोशीमा इलाम (मेची राजमार्ग)को राजदुवाली क्षेत्रमा पहिरोका कारण झापा–ताप्लेजुङ सडक पूर्ण रूपमा अवरुद्ध छ। वैकल्पिक मार्ग प्रयोग गर्न सकिने प्रहरीले जनाएको छ। भोजपुरको (मध्यपहाडी लोकमार्ग) भोजपुर नगरपालिका– ५, बोखिममा बाढीका कारण सडक एकतर्फी सञ्चालनमा छ। 

बागमतीमा काभ्रेमा (बिपी राजमार्ग) सम्भावित बाढीको जोखिमका कारण खुर्कोट–नेपालथोक–कटुञ्जेबेँसी खण्डमा आइतबार साँझ ६ बजेदेखि बिहान ४ बजेसम्म सवारी सञ्चालन रोकिएको छ। ललितपुरमा (कान्ति लोकपथ) बागमती गाउँपालिका– ३, भालुखोलामा पहिरो खसेपछि सडक पूर्ण रूपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ।

त्यस्तै, मकवानपुरमा (कान्ति लोकपथ)  हेटौँडा–ठिंगन–बागमती–ललितपुर खण्डमा सम्भावित बाढी र पहिरोको जोखिमका कारण अर्को सूचना नभएसम्म सवारी सञ्चालन बन्द गरिएको छ।

सिन्धुपाल्चोकमा (अरनिको राजमार्ग) भोटेकोशी गाउँपालिका– ४ जिरोकिलो र गाउँपालिका– २ कोदारी क्षेत्रमा पहिरोका कारण सडक पूर्ण रूपमा अवरुद्ध छ। त्यस्तै, चितवन प्रशासनले नारायणगढ-मुग्लिन-काठमाडौं सडक पनि अनिश्चितकालका लागि बन्द गरेको छ। रसुवामा (पासाङ ल्हामु सडक) गोसाईँकुण्ड गाउँपालिका– ६, बोकेझुन्डामा पहिरो खसेपछि सडक पूर्ण रूपमा बन्द छ।

यसैगरी, बागलुङमा (कालीगण्डकी करिडोर) जैमिनी नगरपालिका– ८, बेलबगर क्षेत्रमा पहिरोका कारण मुस्ताङतर्फ जाने सडक पूर्ण रूपमा अवरुद्ध छ।
लुम्बिनीमा अर्घाखाँची (सालझन्डी–ढोरपाटन सडक) पाणिनी गाउँपालिका– २, ढुंग्रेखोलामा पहिरोका कारण बागलुङ, रुकुम र गुल्मीतर्फ जाने सडक पूर्ण रूपमा बन्द छ। गुल्मीमा (वामी–रिडी सडक) चन्द्रकोट गाउँपालिका– ८, तल्लाफाँटमा पहिरो जाँदा सडक पूर्ण रूपमा अवरुद्ध भएको छ।

सुझावित समाचार