मनसुन जोखिम बढेपछि काठमाडौं प्रशासनद्वारा सवारीसाधन र यात्रुलाई सावधानी अपनाउन आग्रह

शनिबार, २ साउन, २०८३
डिजिटल संस्करण

जिल्ला प्रशासन कार्यालय, काठमाडौंले मनसुनका कारण बाढी, पहिरो तथा अन्य विपद्जन्य घटनाको जोखिम बढ्न सक्ने भन्दै सर्वसाधारणलाई यात्रा गर्दा विशेष सावधानी अपनाउन आग्रह गरेको छ।

कार्यालयले शनिबार यात्रा सावधानी (ट्राभल एलर्ट) जारी गर्दै जल तथा मौसम विज्ञान विभागले भारी वर्षाको सम्भावना रहेको क्षेत्रलाई रेड अलर्टमा राखेको अवस्थालाई मध्यनजर गर्दै सचेत रहन आग्रह गरेको हो।

प्रशासनले काठमाडौं उपत्यकाका उत्तर, दक्षिण, पूर्व र पश्चिमतर्फका प्रवेश तथा बाहिरिने नाकाबाट आवतजावत गर्ने सार्वजनिक तथा निजी सवारीसाधनका धनी, चालक, सहचालक र यात्रुलाई यात्रा गर्नुअघि मौसम तथा सडकको अवस्थाबारे जानकारी लिएर मात्र अघि बढ्न अनुरोध गरेको छ।

निरन्तरको वर्षाका कारण सडक अवरुद्ध हुन सक्ने, पहिरो खस्ने, नदी तथा खोलामा पानीको बहाव बढ्ने र डुबानको जोखिम रहने भएकाले अनावश्यक यात्रा नगर्न प्रशासनले आग्रह गरेको छ। अत्यावश्यक कामका लागि यात्रा गर्नुपर्ने अवस्थामा उच्च सतर्कता अपनाउन पनि भनिएको छ ।

विपद्को जोखिम बढ्न सक्ने अवस्थालाई ध्यानमा राख्दै सम्बन्धित निकायबाट जारी हुने सूचना तथा निर्देशन पालना गर्नसमेत जिल्ला प्रशासन कार्यालयले सर्वसाधारणलाई अनुरोध गरेको छ ।

सुझावित समाचार