नेपाल सरकारका भौतिक पूर्वाधारमन्त्री सुनील लम्साल कर्णाली राजमार्ग र कर्णाली करिडोरको स्थलगत अनुगमनमा निस्कनुभएको छ। कर्णालीको सडक र भौतिक पूर्वाधारको अवस्था अबलोकन गर्न मन्त्री लम्साल सुर्खेत–दैलेख–कालीकोट–जुम्ला–मुगु हुँदै हुम्ला जिल्लासम्म पुग्ने कार्यक्रम रहेको छ।
कर्णाली राजमार्गको स्थलगत अनुगमनका क्रममा कालीकोट पुग्नुभएका मन्त्री लम्सालले कर्णाली राजमार्गको अनुगमनमा वर्षायाममा आएको यो समयमा आउनु कर्णाली राजमार्गको वास्तविकता बुझ्न पाएको बताए। ‘आएर जे गरे ठिक गरेजस्तो लाग्यो, वर्षामै आइयो एकदमै ठिक भयो,’ उनले भने, ‘सडकको अवस्था हेर्न पाइयो। यो अवस्थामा नागरिकहरू बस चढेर हिँडिराख्नुभएको छ।’
मन्त्री लम्सालले कर्णाली राजमार्गको अनुगमनमा सुर्खेतबाट आफैँ गाडी चलाउँदै कर्णाली राजमार्गको अनुगमन गरेका छन्। मन्त्री लम्सालले कर्णाली राजमार्ग र कर्णाली करिडोरको स्थलगत अनुगमन गरेर यहाँको अवस्था विषय लिएर आगामी दिनमा सडक सुधारका लागि आवश्यक काम थालिने बताए। ‘यो भ्रमणको उद्देश्य केवल घुम्नु मात्रै हैन,’ उनले भने, ‘यहाँको अवस्थालाई बुझेर भावी दिनमा काम गर्नु रहेको छ।’
मन्त्री लम्सालसँगै अनुगनममा रहनुभएका सुर्खेत क्षेत्र नं. २ का प्रतिनिधिका सांसद रमेश सापकोटाले मन्त्रीको कालीकोटबाट जुम्ला–मुगु हुँदै हुम्लासम्म जाने कार्यक्रम रहेको बताए। ‘वर्षाको समयमा सडक पूर्वाधारको अनुगमन गर्न कर्णाली आउनुभएको हो,’ उनले भने, ‘कर्णाली प्रदेशको समग्र पूर्वाधार विकास, वर्तमान अवस्था, चुनौती र सम्भावनाबारे स्थलगत अनुगमन तथा छलफलमा छौँ।’
अनुगमनका क्रममा सुर्खेत, दैलेख, कालीकोट, मुगु, जुम्ला, हुम्ला क्षेत्रको प्रत्यक्ष अवलोकन, कर्णाली राजमार्ग र कर्णाली करिडोरको अवस्थाका विषयमा जानकारी लिने सांसद सापकोटाले बताए। ‘अनुगमन क्रममा स्थानीय आवश्यकता र जनअपेक्षाबारे विस्तृत अध्ययन भइरहेको छ,’ उनले भने, ‘कर्णालीका नागरिकले सहज, सुरक्षित र गुणस्तरीय पूर्वाधार पाउने अधिकार सुनिश्चित निरन्तर लागि पर्नेछौँ।’
अनुगमनमा भ्रमणमा मन्त्री लम्साल, सुर्खेत क्षेत्र नं. २ प्रतिनीधिसभाका सांसद रमेश सापकोटा र प्युठानबाट निर्वाचित प्रतिनिधिसभा सांसद सुशान्त वैद्यसहितको सहभागिता रहेको छ।