सहकाल भित्रियोस् भन्दै ताप्लेजुङमा किराँत समुदायले मनाए सिसेक्पा तङ्नाम

शनिबार, २ साउन, २०८३
डिजिटल संस्करण

मुन्दुममा प्रकृति, पुर्खा र इष्टदेवप्रतिको सम्मानसँग जोडिएको लिम्बू समुदायको मौलिक पर्व सिसेक्पा तङ्नाम (साउने सङ्क्रान्ति) ताप्लेजुङमा विविध सांस्कृतिक गतिविधि सहित भव्यरुपमा मनाइएको छ । 

किराँत लिम्बू समुदायले साउने सङ्क्रान्तिलाई ‘सिसेक्पा तङ्नाम’का रुपमा मनाउने गर्दछन् । मुन्दुमी परम्परा अनुसार अनिकाल हटेर सहकाल र समृद्धि भित्रियोस् भन्ने कामना सहित प्रकृति तथा इष्टदेवको सम्मान गर्ने र मौलिक संस्कृतिको संरक्षण गर्ने उद्देश्यले यो पर्व मनाउने गरिएको हो । 

सिसेक्पा तङ्नामको अवसरमा शुक्रबार सदरमुकाम फुङ्लिङमा याःलाङ (धान नाच), केःलाङ (च्याब्रुङ नाच) लगायतका मौलिक सांस्कृतिक प्रस्तुति तथा शुभकामना आदानप्रदान कार्यक्रम भए ।  किराँत याक्थुङ चुम्लुङ ताप्लेजुङको आयोजनामा भएको कार्यक्रममा लिम्बू समुदायका तुम्याङ तथा अगुवा, चुम्लुङका पदाधिकारी तथा सदस्य, किराँत याक्थुङ कलाकार मञ्चका कलाकार र समुदायका अन्य सदस्य सहभागीता रहेको थियो । कार्यक्रममा पुरुष तथा महिलाहरु मौलिक पहिरन, गरगहना र जातीय भेषभूषामा सहभागी भएका थिए।

चुम्लुङका जिल्ला सचिव सरोज कङ्लिबाले मौलिक संस्कृति र पर्वको संरक्षण तथा प्रवद्र्धन गर्ने उद्देश्यले सिसेक्पा तङ्नामका अवसरमा सांस्कृतिक प्रस्तुति र शुभकामना आदान प्रदान लिम्बू समुदायमा सिसेक्पा तङ्नामका दिन बिहान देखि विशेष खानपान तथा शुभकामना आदानप्रदान गर्ने चलन छ । साँझपख भने अन्न, फलफूल तथा कुरिल्लोका पातलगायत सामग्री संकलन गरी हरियो बाबियोको डोरीमा उनेर घरको मूल ढोकामाथि झुण्ड्याउने परम्परा रहेको कङ्लिबाले जानकारी दिए । 

सङ्क्रान्तिको साँझ नयाँ पाकेका फलफूल तथा अन्य सामग्री इष्टदेवलाई चढाउने चलन समेत रहेको छ । यसरी प्रकृति र इष्टदेवको सम्मान गर्दै अनिकाल हटाई सहकाल र समृद्धि भित्र्याउने कामना गर्ने गरिएको कङलिवाले जानकारी दिए ।

मुन्दुमी मान्यता अनुसार पर्वको समापनका क्रममा साँझ खाना खाइसकेपछि छरछिमेकका मानिस एकै ठाउँमा भेला भई बन्दुक पड्काउने, थाल, झ्याम्टा र ढोल बजाउने तथा नाङ्लो ठटाउने लगायतका गतिविधि गर्ने चलन समेत रहेको छ । यस्ता गतिविधिले घर तथा समाजमा रहेका खराब तत्वको अन्त्य हुने जनविश्वास रहेको कङ्लिबाले बताए । लिम्बू समुदायको मौलिक पर्वका रुपमा मनाइँदै आएको सिसेक्पा तङ्नाम पछिल्लो समय अन्य समुदायले समेत मनाउन थालेका छन् ।

ताप्लेजुङसहित पूर्वी नेपालका पाँचथर, तेह्रथुम, संखुवासाभा लगायतका जिल्लामा समेत लिम्बू समुदायले मुन्दुमी संस्कार, सांस्कृतिक गतिविधि र सामुदायिक सहभागिता सहित सिसेक्पा तङ्नाम मनाउँदै आएको बताईन्छ । 

सुझावित समाचार