विगतमा जस्तै यो वर्ष पनि सरकारले मागअनुसार रासायनिक मलको सहज आपूर्ति गर्न सकेको छैन । तर, मनसुसन सक्रिय भएपछि देशभरका किसानले मल अभावबिच असार मसान्तसम्म ६१.६२ प्रतिशत रोपाइँ सकाएका छन् ।
पछिल्लो समय भइरहेको नियमित मनसुनका कारण सबैभन्दा बढी धान उत्पादन हुने मधेश प्रदेशमा रोपाइँको उल्लेख्य प्रगति भएको छ । मधेशमा बिहीबारसम्म करिब ६० प्रतिशत रोपाइँ सकिएको कृषि विभागले जनाएको छ । विभागका अनुसार असार मसान्तसम्म देशभर ६१.६२ प्रतिशत रोपाइँ सकिएको छ ।
साउन र भदौसम्म थप एक लाख ३७ हजार टन रासायनिक मल आपूर्तिको सुनिश्चितता भएको कृषि, वन तथा पर्यावरण मन्त्रालयले जनाएको छ । यसमध्ये ३० हजार टन डिएपी भारतको विशाखापट्टनम बन्दरगाहमा र २७ हजार टन डिएपी कोलकाता बन्दरगाहमा आइपुगेको मन्त्रालयले जनाएको छ ।
‘दुवै बन्दरगाहमा हाल मल प्याकिङ भइरहेको र विशाखापट्टनम पोर्टबाट मल रेलमा लोड भई हिँडिसकेको छ । कोलकाताबाट पनि छिट्टै मल लोड हुने क्रममा रहेको छ,’ मन्त्रालयले जारी गरेको प्रेस नोटमा भनिएको छ, ‘जिटुजी प्रक्रियामार्फत भारतले उपलब्ध गराउने तय भएको डिएपी मल ३ साउनमा कोलकाता बन्दरगाहमा आइपुग्ने तालिका रहेको छ ।’ जिटुजीमार्फत २० हजार टन डिएपी खरिदको सम्झौतामा छ ।
त्यस्तै, ३०–३० हजार टन युरिया लोड भएका जहाजहरू १ साउनमा कोलकाता बन्दरगाहमा आइपुग्ने तालिका छ । कोलकाता बन्दरगाह आइपुगेको मल अनलोड, प्याकिङ र रेलमा लोड गरी नेपालका नाकासम्म आइपुग्न करिब तीन साता लाग्ने गरेको छ । त्यसपछि पनि २५ सय टनका दरले प्रत्येक सातामा एकपटक मल ढुवानी हुने गरेको छ । मौज्दातमा रहेको रासायनिक मल बिक्री–वितरणलाई पारदर्शी बनाइएको मन्त्रालयको दाबी छ ।