चिन्तैचिन्ताको दैनिकीले बढाउँदै नसर्ने रोग

शनिबार, २ साउन, २०८३
डिजिटल संस्करण
  • देशभर कुल मृत्युको ७१ प्रतिशत नसर्ने रोगका कारण हुने गरेको छ । अव्यवस्थित खानपान, व्यायामको कमी, बढ्दो अनिद्रा र चिन्ताग्रस्त दैनिकीले नसर्ने रोग भयावह रूपमा बढाइरहेको छ । सँगसँगै देश र समाजलाई पनि गरिबीतर्फ धकेलिरहेको छ ।

नसर्ने रोग नेपालका लागि चुनौतीपूर्ण बनिरहेको छ । यो भयावह रूपमा बढिरहेको छ । नसर्ने रोगमा उच्च रक्तचाप, मधुमेह, क्यान्सर, मुटु र मिर्गौलासम्बन्धी तथा मोटोपन नेपालमा मुख्य समस्याका रूपमा देखिएका छन् ।

स्वास्थ्य मन्त्रालय, नेपाल स्वास्थ्य अनुसन्धान परिषद्, विश्व स्वास्थ्य संगठन नेपाललगायत केही निजी संस्थाहरूले ०७९ मा गरेको अध्ययनअनुसार नेपालमा ४५ लाखमा उच्च रक्तचाप, ३० लाख मानिसमा मधुमेह, २९ लाखमा मिर्गौलासम्बन्धी समस्या, २४ लाखमा मुटुसम्बन्धी रोग, नौ लाखमा मोटोपना र एक लाखमा क्यान्सर पहिचान भएको थियो । नसर्ने रोगले विकराल रूप लिँदै गएपछि स्वास्थ्य मन्त्रालयले पनि ०८१ देखि विभिन्नखाले परीक्षण गरेर नसर्ने रोगको अवस्था पहिचान गर्न थालेको थियो । जसअनुसार फागुन महिनालाई ‘नसर्ने रोगको पहिचान गर्ने महिना’को रूपमा मनाउने घोषणा नै गरेर अभियान थालियो ।

०८१ मा ७५३ वटै स्थानीय तहमा भएको परीक्षणमा १२ लाखले उच्चरक्तचाप, मुधमेह, मुटु, पिसाब, क्यान्सर, मोटोपन तथा तौललगायत परीक्षण गराएकामा ६० हजारमा नसर्ने रोग देखिएको थियो । स्वास्थ्य मन्त्रालयका अनुसार तीमध्ये पनि धेरैमा मधुमेह देखिएको थियो ।

मिर्गौलासम्बन्धी समस्या भएकामध्ये प्रतिवर्ष तीन हजारको मिर्गौला फेल हुने गरेको मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले बताए । उनका अनुसार मोटोपना (उचाइअनुसार शरीरको तौल र आकार नमिलेको)को संख्या पुरुषभन्दा महिलामा बढी देखिएको छ । विश्व स्वास्थ्य संगठनको सन् २०२२ को तथ्यांकअनुसार नेपालमा ७० लाखभन्दा बढीमा मोटोपना छ । त्यसमध्ये ६५ प्रतिशत महिला र ७ प्रतिशत वयस्क मोटोपनाबाट ग्रस्त छन् । त्यस्तै, क्यान्सरबाट हरेक वर्ष करिब १६ हजार नौ सयको मृत्यु हुने गरेको र २६ हजार नयाँ बिरामी थपिने गरेको तथ्यांक छ । हाल देशभर एक लाख क्यान्सर रोगी छन् । विभिन्न नसर्ने रोग भएर पनि उपचारको पहुँचमा नआउनेको संख्या धेरै हुन सक्ने वीर अस्पतालका वरिष्ठ चिकित्सक तथा सूचना अधिकारी डा. प्रकाश बुढाथोकी बताउँछन् ।

‘नसर्ने रोग सबैभन्दा ठुला शत्रु बनेको छ, कैयौँको ज्यान गइरहेको छ । नेपालमा कुल मृत्युको ७१ प्रतिशत नसर्ने रोगकै कारणले भएको छ । यसले देश र समाजलाई नै गरिबीतर्फ धकेलिरहेको छ,’ उनले भने, ‘अहिलेको खानपान तथा जीवनशैलीले नसर्ने रोग बढाइरहेको छ । समयक्रमसँगै हामी व्यस्त भयौँ, कुर्सी र प्रविधिमा केन्द्रित दैनिकी हुन थाल्यो, तर व्यायाम छैन । खानपानमा चिल्लो, पिरो, विभिन्न पेयपदार्थ र मैदाजन्य खानेकुरा बढी भए । मुख्य समस्या त हाम्रो दैनिकी चिन्तैचिन्तामा बित्ने गरेको छ । कम सुताइका कारण आराम पुगेको छैन । यस्तै–यस्तै कारणले नसर्ने रोग भयावह बन्दै छ । सरकार र जनताले यसलाई कम गर्नका लागि समन्वय गर्न जरुरी छ ।’ उनका अनुसार नेपालमा नसर्ने रोग न्यूनीकरणका लागि एनसिडी अलायन्सले पनि समन्वयकारी भूमिका खेल्दै आएको छ ।

जनस्वास्थ्य कार्यालय ललितपुरका प्रमुख डा. खगेश्वर गेलालका अनुसार मुख्य नसर्ने रोगमा मुटु तथा रक्तनलीसम्बन्धी, क्यान्सर, फोक्सो तथा श्वासप्रश्वास, उच्च रक्तचाप, मिर्गौला फेल, थाइराइड र मधुमेह छन् । ‘यी रोग लाग्नुको मुख्य कारण धूम्रपान सेवन, अस्वस्थ वातावरण, खानपान तथा बिग्रँदो जीवनशैली नै हो,’ उनले भने । नसर्ने रोग स्वास्थ्यका लागि चुनौती त हो नै, यसले आर्थिक क्षेत्रमा पार्ने भारसमेत डरलाग्दो छ ।

नसर्ने रोगका कारण बढ्दो छ मृत्युदर
नेपालमा नसर्ने रोगका कारण मृत्युवरण हुनेको संख्या पनि बढ्दो छ । स्वास्थ्य मन्त्रालयका अनुसार नेपालमा मुटु रोगका कारण वार्षिक ३० हजारको मृत्यु हुन्छ । जसमा एकतिहाइ मृत्यु १३ देखि ४५ वर्ष उमेर समूहका छन् । त्यस्तै सुर्तीजन्य पदार्थको सेवनबाट लाग्ने विभिन्न नसर्ने रोगकै कारण वार्षिक ३९ हजार दुई सयको मृत्यु हुन्छ । क्यान्सरका कारण वार्षिक १४ हजार ६ सयको मृत्यु हुन्छ । मधुमेहका कारण वार्षिक ६ हजार पाँच सय, उच्च रक्तचापका कारण दुई हजार ९२, मिर्गौला फेल भएर तीन हजार दुई सय र श्वासप्रश्वाससम्बन्धी रोगका कारण ३४ हजार ३४७ मृत्यु हुने गरेको छ । वरिष्ठ मुटुरोग विशेषज्ञ डा. प्रकाशराज रेग्मीले नेपालमा मुटसँगै अन्य नसर्ने रोगका भार बढेकोले सचेत हुनुपर्ने बताए । ‘पछिल्लो समय युवा पुस्तामा मुटु बिग्रिने क्रम बढ्दो छ, अन्य नसर्ने रोग पनि बढिरहेको छ, अहिलेको परिवेश, खानपान र डिभाइसका कारण युवाहरूमा मुटु, श्वासप्रश्वाससम्बन्धीको समस्या बढ्दो छ,’ उनले भने, ‘नसर्ने रोग बढ्दो भनेको बिरामी मात्रै नभएर परिवार, समाज र देशलाई नै भार पर्नु हो, कतिपय नसर्ने रोगका कारण परिवार मात्रै होइन देश नै गरिबीतर्फ धकिलिनुपर्ने अवस्था छ ।’

सरकारको नि:शुल्क स्क्रिनिङ अभियान पुगेन गाउँगाउँसम्म
नसर्ने रोगको भयावह अवस्था न्यूनीकरण गर्न तत्कालीन स्वास्थ्यमन्त्री प्रदीप पौडेलले गत वर्षदेखि फागुन महिनालाई ‘नसर्ने रोगको नि:शुल्क स्क्रिनिङ अभियान’ महिनाको रूपमा घोषणा गरेका थिए । मन्त्रालयले १६ मंसिर ०८१ मा यससम्बन्धी निर्देशिका स्वीकृत गर्दै फागुन १ देखि ३० सम्म नसर्ने रोगको पहिचानका लागि स्क्रिनिङ गर्ने तालिका तोकिएको थियो । यसैअनुसार गत वर्ष (०८१ फागुन) ७५३ वटै स्थानीय तहमा भएको परीक्षणमा १२ लाखले उच्चरक्तचाप, मुधमेह, मुटु, पिसाब, क्यान्सर, मोटोपन तथा तौललगायत परीक्षण गराएकामा ६० हजारमा नसर्ने रोग देखिएको थियो ।

तर, गएको फागुन निर्वाचनका कारण उक्त स्क्रिनिङ अभियान प्रभावित भएको थियो । फागुनमा निर्वाचनका कारण असम्भव हुने भन्दै स्वास्थ्य मन्त्रालयले माघ महिनामा उक्त परीक्षण गर्न सबै स्वास्थ्य संस्थाहरूलाई निर्देशन दिएको थियो । तर, एक साता सकिएपछि ८ माघमा मात्रै त्यस्तो निर्देशन दिएको थियो । ढिला परिपत्र आएको भन्दै अधिकांश जिल्लामा स्क्रिनिङ अभियान नै हुन सकेन ।  कतिपय जिल्ला जनस्वास्थ्य कार्यालय, पालिका र स्थानीय स्वास्थ्य संस्थाहरूले झारा टार्ने गरी एकदिने परीक्षण मात्रै सञ्चालन गरेका थिए ।

वीर अस्पतालका वरिष्ठ चिकित्सक डा. बुढाथोकी गएको माघमा सारिएको नसर्ने रोगको स्क्रिनिङ अभियान प्रभावकारी नभएको बताए । ‘नसर्ने रोग पहिचानका लागि हरेक वर्ष फागुन महिनामा परीक्षण अभियान नै चलाउने नियमित कार्यक्रम हो, तर गएको फागुनमा  चुनावले नसर्ने रोग प्रभावकारी हुन सकेन, आउँदो फागुनमा प्रभावकारी रूपमा सञ्चालन हुनुपर्छ,’ उनले भने । गएको फागुनमा काठमाडौं र ललितपुर जिल्ला जनस्वास्थ्य कार्यालयले सबै पालिकालाई परिपत्र गरे पनि स्थानीय स्वास्थ्य संस्था र पालिकाहरूले परीक्षणलाई अभियानका रूपमा सञ्चालन गरेनन् । हरेक वर्ष नसर्ने रोगको परीक्षण नि:शुल्क गर्ने गरिन्छ । तर, ०८१ देखि सुरु भएको यस अभियानको मुख्य उद्देश्य रोग पालेरै बसेकाहरूको रोग पहिचान गर्नु हो ।

मन्त्रालयका सहप्रवक्ता डा. अधिकारीले हरेक वर्ष स्क्रिनिङका लागि छुट्टै बजेट नभएको, तर हरेक स्थानीय तहलाई यही कार्यक्रमका लागि मन्त्रालयले एक–एक लाख रुपैयाँ दिने गरेको बताए । ‘स्वास्थ्य संस्थामा भइरहेका उपकरण र जनशक्ति प्रयोग गरेर परीक्षण गर्ने भएकाले यसमा खासै खर्च लाग्दैन,’ उनले भने, ‘यो अभियानमा स्वास्थ्य संस्थाहरूले अल्छी गर्नु भएन, सेवाग्राही पनि सेवा लिन आउनुपर्‍यो, हरेक वर्षको फागुनमा मात्रै नभएर अन्य समयमा पनि आवश्यकताअनुसार स्क्रिनिङ भइरहेको छ ।’ 
 

सुझावित समाचार