पहिलोपटक कोलकाता–विराटनगर रेल कार्गो सेवा सुरु, पारवहन लागत र समय घट्ने

शुक्रबार, १ साउन, २०८३
डिजिटल संस्करण

नेपाल–भारत पारवहन सम्झौताअन्तर्गत तेस्रो मुलुकबाट आयात हुने मालसामानलाई भारतीय भूमि हुँदै नेपालको सिमानासम्म ढुवानी गर्ने प्रक्रियामा आजदेखि कोलकाता–विराटनगर रेल्वे कार्गो ढुवानीको कार्य सुरु भएको छ।

भारत सरकारको केन्द्रीय अप्रत्यक्ष कर तथा भन्सार बोर्डले इलेक्ट्रोनिक कार्गो ट्रयाकिङ सिस्टम (इसिटिएस) नियमावली, २०१९ मा संशोधन गर्दै कोलकाता, हल्दिया र विशाखापट्टनम बन्दरगाहबाट नेपालका लागि रेलमार्फत हुने कार्गो ढुवानीको दायरा विस्तार गरी विराटनगर भन्सारसम्म रेल कार्गो लैजान पाउने व्यवस्था गरेको थियो।

उक्त निर्णय कार्यान्वयन गराउन नेपाली महावाणिज्य दूतावासको पहलपश्चात् कोलकाता भन्सारले कोलकाता र हल्दियाबाट वीरगन्जका अतिरिक्त जोगबनीस्थित भारतीय भन्सार यार्ड हुँदै विराटनगरस्थित नेपाल भन्सार यार्डसम्म रेलबाट मालसामान ढुवानी गर्ने प्रक्रियागत व्यवस्था मिलाएको थियो। 

यसको कार्यान्वयनका लागि महावाणिज्य दूतावासले कोलकाता भन्सार, बन्दरगाह, सिपिङलाइनसँग समन्वय गरी साउन १ गते कोलकाता बन्दरगाहदेखि विराटनगरका लागि पहिलोपटक औपचारिक रूपमा रेल कार्गो सेवाको शुभारम्भ भएको हो। यस अवसरमा कोलकातास्थित नेपाली महावाणिज्यदूत झक्कप्रसाद आचार्य, कोलकाता भन्सार, कोलकाता पोर्ट र भारतीय कन्टेनर निगम लिमिटेडका अधिकारीहरूले संयुक्त रूपमा हरियो झन्डा देखाई रेल कार्गोको शुभारम्भ गरे।

भारतीय कन्टेनर निगम लिमिटेड (कोनकर)को रेल र्याकमार्फत प्रस्थान गरेको यस पहिलो ढुवानीमा नेपालको स्वस्तिक आयल इन्डस्ट्रिजका लागि तेस्रो मुलुकबाट आयात गरिएको कच्चा पदार्थ राखिएका ४० वटा ४० फिटका उच्च क्षमताका कन्टेनरहरू छन्। 

यी कन्टेनरहरूमा इसिटिएससमेत जडान गरिएको छ। नेपाल–भारत सीमावर्ती क्षेत्र जोगबनी एकीकृत भन्सार यार्ड हुँदै विराटनगर आइपुग्ने यो रेल सेवा पूर्ण रूपमा सञ्चालनमा आएसँगै एकैपटकमा ४५ वटासम्म ४० फिटका कार्गो कन्टेनरहरू सिधै विराटनगर पठाउन सकिन्छ। 

विगतमा वीरगन्जमा मात्र यस्तो रेल कार्गो सुविधा उपलब्ध भएकोमा अब विराटनगरमा समेत रेल कार्गोमार्फत कन्टेनर र बल्क कार्गो नियमित रूपमा व्यावसायिक ढुवानी गर्ने बाटो खुला भएको छ। 

सुझावित समाचार