चिकित्सा शिक्षा सुधारका अभियन्ता प्राडा गोविन्द केसीले चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्रमा भएका विकृतिविरुद्ध आमरण अनशनको चेतावनी दिएका छन्। शुक्रबार विज्ञप्तिमार्फत आफ्ना तीनबुँदे माग जारी गर्दै ती मागहरू कार्यान्वयन नभए ५ साउनदेखि सत्याग्रह थाल्ने चेतावनी दिएका हुन् ।
डा. केसीले हाल स्वास्थ्य विज्ञान प्रतिष्ठान तथा विश्वविद्यालयमा नियुक्त गरिएका पदाधिकारीहरूको नियुक्ति तुरुन्त खारेज गर्नुपर्ने माग राखेका छन् । स्थापित नियम, मूल्य र मान्यताविपरीत मिचेर नियुक्ति गरिएको भन्दै केसीले आपत्ति जनाएका छन् ।
मेडिकल शिक्षामा स्वार्थ हाबी हुने गरी नियुक्ति गर्दा चिकित्सा शिक्षा खस्किने डा. केसीको ठम्याइ छ । ‘यो सरकारले मेडिकल शिक्षामा सुधारको काम गर्छ होला, विगतका कमीकमजोरी दोहोरिँदैनन् होला भन्ने लागेको थियो,’ उनले भने, ‘तर, भएन, झन्–झन् विकृतिहरू बढे, विगतको नियत यो सरकारले पनि दोहोयार्यो, अझ पिसिएल नर्सिङ तहको कार्यक्रम ब्युँतायो, जब कि कक्षा १२ सम्मलाई स्कुल तह मान्ने भनेर नै कानुन निर्माण गरिएको छ, तर सरकारले त्यसलाई बेवास्ता गर्यो ।’
यी हुन् केसीका माग
मेडिकल विश्वविद्यालयलगायत चिकित्सा शिक्षाका नियमनकारी निकायमा नियुक्त गरिएका पदाधिकारीहरूको नियुक्ति तुरुन्त खारेज गर्नुपर्ने। चिकित्सा शिक्षा आयोगमार्फत छात्रवृत्ति कटौती र मापदण्ड तथा पूर्वाधारविना नै निजी कलेजहरूलाई पुनः सिट वृद्धि गर्ने प्रस्तावहरू तत्काल खारेज गर्नुपर्ने । ‘राष्ट्रिय चिकित्सा शिक्षा ऐन, २०७५’ बमोजिम चिकित्सा शिक्षालाई २०८५ सालभित्र पूर्ण रूपमा गैरनाफामूलक बनाउनुपर्ने ।