गायक चौलागाईं अमेरिकामा जर्सी सिटी काउन्सिलद्वारा सम्मानित

शुक्रबार, १ साउन, २०८३
डिजिटल संस्करण

अमेरिकाको न्युजर्सीस्थित जर्सी सिटी काउन्सिलले पार्श्वगायक तथा संगीतकार युवराज चौलागाईंलाई नेपाली संगीत, संस्कृति र प्रवासी नेपाली समुदायमा पुर्याएको योगदानको कदर गर्दै सम्मान गरेको छ ।

काउन्सिलले नेपाली संगीतको समकालीन यात्रामा एक प्रभावशाली र प्रेरणादायी व्यक्तित्वका रूपमा उनलाई चित्रण गरेको छ । सिटी हलमा आयोजित समारोहमा जर्सी सिटीकी ‘विविधता र समावेशीकरण सल्लाहकार’ एवं गभर्नरको ‘एसियन अमेरिकन प्यासिफिक आइल्यान्डर कमिसन’की आयुक्त विष्णुमाया परियारले सम्मानपत्र प्रदान गरिन् ।

काउन्सिलम्यान-एट-लार्ज रोलान्डो लभारोले हस्ताक्षर गरेको सम्मानपत्रमा चौलागाईंले दुई दशकभन्दा लामो समयदेखि नेपाली संगीत क्षेत्रमा पुर्याएको योगदानलाई विशेष रूपमा उल्लेख गरिएको छ ।

नेपाली चलचित्र तथा समकालीन संगीत विधामा गरी चार सयभन्दा बढी गीत रेकर्ड गराइसकेको चर्चा गर्दै, यस ऐतिहासिक उपलब्धिले उनलाई नेपाली संगीत जगतमा एक स्थापित र सम्मानित कलाकारका रूपमा प्रमाणित गरेको पत्रमा उल्लेख छ ।

न्युयोर्कबाट प्रकाशित हुने स्थानीय सञ्चारमाध्यम ‘नेपयोर्क’को चौथो वार्षिकोत्सवको अवसर पारेर सम्मान प्रदान गरिएको हो ।

सुझावित समाचार