प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले ठुला प्रतिपक्षी दलका नेतासँग संवादका लागि इच्छुक देखिएका छैनन् । सार्वभौम संसद्प्रति उत्तरदायी हुनु, संसद्मा सरकारका कामकारबाहीमाथि उठेका प्रश्नको जवाफ दिनु र विपक्षी दलहरूसँग औपचारिक तथा अनौपचारिक समन्वय गर्दै सरकार चलाउनु प्रधानमन्त्रीको कर्तव्य हो । तर, संसद्प्रति उत्तरदायी नभएको आरोप खेप्दै आएका प्रधानमन्त्री बालेनले ठुला विपक्षी दलका नेतासँग पनि भेटघाट गर्ने इच्छा देखाएका छैनन् ।
प्रमुख प्रतिपक्षी कांग्रेस सभापति गगन थापासँग रास्वपाको चितवन महाधिवेशन उद्घाटन सत्रमा साक्षात्कार भएबाहेक औपचारिक भेटवार्ता भएको छैन । एमाले अध्यक्ष केपी ओली र नेकपा संयोजक प्रचण्डसँग पनि अहिलेसम्म भेटघाट छैन । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङसँग संसद्मै भएको भेटघाटमा संक्षिप्त कुराकानी गरेका थिए ।
प्रधानमन्त्री बालेनको दुईपटक बसेको संवैधानिक परिषद्मा विपक्षी दलका नेता भीष्मराज आङ्देम्बेसँग भेट र कुराकानी भएको छ । बैठकमा आङ्देम्बेले बैठकबाहेक अनौपचारिक भेटवार्तामा बोलाउन प्रधानमन्त्रीलाई सुझाएका थिए । प्रधानमन्त्रीका रूपमा आफूले चिन्नै नपाएको भन्दै चियापान समारोह राखेर हार्दिकता बढाउन आग्रह गरेका थिए । यतिसम्म भन्दा पनि प्रधानमन्त्रीले विपक्षी नेतालाई भेट दिएका छैनन् ।
यता, संसद् बैठक भएको १०९ दिनमा प्रधानमन्त्री जम्मा सात दिन मात्रै उपस्थित भएका छन् । संसद् सचिवालयको रेकर्डअनुसार प्रधानमन्त्री शाह सदनमा एकपटक मात्रै बोलेका छन्, त्यो पनि सवाल–जवाफमा । उनले सदनलाई अहिलेसम्म औपचारिक रूपमा सम्बोधन गरेका छैनन् ।
राष्ट्रिय सभाका पूर्वसचिव राजेन्द्र फुयाँल संसदीय प्रणाली भनेकै सरकार सदनप्रति उत्तरदायी हुनु रहेको बताउँछन् । ‘हाम्रो प्रणाली नै प्रधानमन्त्री र मन्त्रीहरू संसद्मार्फत जनताप्रति उत्तरदायी हुने हो र माध्यम संसद् हो । संसद्को अधिवेशन चलेको वेलामा सामान्यतः उपस्थिति आवश्यक हुन्छ । आकस्मिक, शून्य, विशेष समयमा उठेका विषयमा प्रधानमन्त्री र मन्त्रीले निश्चित समयभित्र जवाफ दिनु कर्तव्य हो, त्यो पूरा गर्नुपर्छ,’ उनले भने ।
अहिले सरकारले संसद्लाई कम महत्व दिएको र संसदीय प्रक्रिया औपचारिकता मात्रै हो भन्ने अर्थमा बुझेको देखिएको फुयाँलको बुझाइ छ । ‘प्रधानमन्त्री र सरकार संसद्मा जति धेरै उपस्थित भयो, सांसदको कुरा जति धेरै सुन्यो, प्रश्नहरूको जवाफ दियो, त्यति नै सरकार बलियो र जवाफदेही हुन्छ । सांसदले आमजनताको प्रश्न उठाएकाले सम्बोधन गर्नु सरकारको कर्तव्य हो । यसले सरकारको समय खेर जाँदैन, बरु उपलब्धि हुन्छ । सरकारको लोकप्रियता बढ्छ,’ उनले भने ।
राप्रपासँग प्रधानमन्त्री बालेनको पहिलो राजनीतिक भेट
प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले पहिलो राजनीतिक भेट राप्रपासँग गरेका छन् । प्रतिनिधिसभाको छैटौँ ठुलो दल राप्रपा राजतन्त्रको वकालत गर्दै आएको पार्टी हो ।बिहीबार सिंहदरबारमा भएको भेटमा राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन, वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङ र प्रमुख सचेतक खुश्बु ओली सहभागी थिए ।
संसदीय दलका नेता ज्ञानेन्द्रबहादुर शाही भने थिएनन् । त्यस्तै, प्रधानमन्त्री बालेनसँगै भौतिक पूर्वाधारमन्त्री सुनील लम्साल, प्रधानमन्त्रीका मुख्य सल्लाहकार कुमार व्यञ्जनकार र प्रमुख स्वकीय सचिव सुवास शर्मा थिए ।