लगानीकर्ताको मनोबल बढाउने नीति लिन गभर्नरलाई प्रधानमन्त्रीको आग्रह

शुक्रबार, १ साउन, २०८३
डिजिटल संस्करण

प्रधानमन्त्री बालेन्द्र शाहले आर्थिक क्षेत्रको आत्मविश्वास बढाउने नीति लिन नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेललाई आग्रह गरेका छन् । उनले राष्ट्रिय अर्थतन्त्रलाई गतिशील बनाउन सरकार र केन्द्रीय बैंकले सहकार्य गर्नुपर्ने भन्दै लगानीकर्ताको मनोबल बढाउने नीति लिन आग्रह गरेका हुन् ।

सिंहदरबारमा बिहीबार भएको भेटमा प्रधानमन्त्रीले शाहले गभर्नर पौडेललाई आगामी दिनमा मौद्रिक नीतिमार्फत आवश्यक सहजीकरण र लचकता अपनाउन सुझाव दिएका हुन् । करिब एक घण्टा चलेको भेटमा उनले सरकार र केन्द्रीय बैंकको सहकार्यबाट मात्र आर्थिक आत्मविश्वास बढाउन सकिने स्पष्ट पारे ।

जवाफमा गभर्नर डा. पौडेलले मौद्रिक नीतिलाई अत्यन्त व्यावसायिक र लचिलो बनाउन राष्ट्र बैंक प्रतिबद्ध रहेको बताए । अर्थतन्त्रलाई गति दिनु नै साझा लक्ष्य रहेको उल्लेख गर्दै उनले सेयर बजारका लगानीकर्तादेखि घरेलु उद्यमीसम्म कसैलाई पनि अप्ठ्यारो नपार्ने गरी नीतिगत रूपमा पूर्ण सहजीकरण गर्ने आश्वासन दिए ।

यसैबिच, प्रधानमन्त्री बालेन्द्र शाहले महिला उद्यमीको उद्यमशीलता विकास, व्यवसायमैत्री वातावरण निर्माण तथा उनीहरूले उत्पादन गरेका वस्तुको बजार विस्तारका लागि सरकार आवश्यक सबै सहयोग गर्न प्रतिबद्ध रहेको बताएका छन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बिहीबार महिला उद्यमी महासंघ नेपालका पदाधिकारीसँग भएको छलफलमा प्रधानमन्त्रीले महिला उद्यमीले भोग्दै आएका व्यवधान हटाउँदै स्वदेशी उत्पादनलाई पर्यटकीय गन्तव्यसहित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा प्रवर्द्धन गर्ने वातावरण निर्माणमा सरकार सक्रिय रहेको बताए ।

सुझावित समाचार