प्रेरक प्रसंग : उनान्सयको चक्कर

शुक्रबार, १ साउन, २०८३
डिजिटल संस्करण

एक निकै सम्पन्न सेठकी पत्नीले आफ्ना पतितिर संकेत गर्दै प्रश्न गरिन्– हजुर किन जहिल्यै दुःखी देखिनुहुन्छ ? आखिर हजुरसँग के छैन ? भगवान्ले दिएको सबथोक त छ । तैपनि, यो अनुहार किन जहिल्यै दुःखी देखिन्छ ? छिमेकी मजदुरलाई देखाउँदै उनले अगाडि थप भनिन्– उता हेर्नुस् त, त्यो छिमेकी माइला र उसको परिवार घरमा केही नभए पनि जहिल्यै खुसी देखिन्छन् ।

सेठले पत्नीतिर हेर्दै भने– उनान्सयको चक्करमा नफसुन्जेल सबै खुसी नै देखिन्छन् । जुन दिन ऊ उनान्सयको चक्करमा फस्नेछ, उसको सुख, चैन र खुसी सबै खोसिनेछ । पत्नीले उत्सुकतासाथ प्रश्न गरिन्– यो उनान्सयको चक्कर भनेकोचाहिँ के हो नि हजुर ? सेठले भने– कुनै दिन थाहा पाउनेछ्यौ, धैर्य गर । केही दिनपछि सेठले उनान्सय स्वर्णमुद्राले भरिएको थैलो लगेर छिमेकी मजदुरको घरमा सुटुक्क राखिदिए । मजदुरले थैलो भेटेपछि खोलेर हेर्दा स्वर्णमुद्रा देखे । भगवान्लाई धकन्यवाद दिँदै पतिपत्नी मिलेर स्वर्णमुद्रा गन्न थाले तर जतिपटक गन्दा पनि उनान्सय मात्र पुगेपछि उनीहरू बडो खिन्न भए । भगवान्ले यति दिइसकेपछि सय नै दिएको भए के जान्थ्यो ? यही गुनासोमै उनीहरूले रात बिताए । भोलिपल्ट मजदुरले पत्नीलाई भने– चिन्ता नगर म थप मिहिनेत गरेर एक स्वर्णमुद्रा थपेर यसलाई जसरी भए पनि सय बनाइछाड्छु । त्यस दिनदेखि उनले खान, सुत्नसमेत छाडेर थप मिहिनेत गर्न थाले । पत्नी दिनभर घरैमा बसेर सिक्काको रखवाली गर्न थालिन् । उनीहरूको अवस्था निकै दुःखी देखिन थाल्यो । उनीहरूको त्यो अवस्था देखेर सेठकी पत्नीले भनिन्– माइला र उसको परिवार दुःखी देखिन्छन् । तिनलाई केही सहयोग गरिदिनुभए हुन्थ्यो नि ! सेठले प्रश्न गरे– के सहयोग गरौँ, भन न त ! पत्नीले भनिन्– कम्तीमा एक स्वर्णमुद्रा त दिनुस् न ! 

सेठले हाँस्दै भने– मैले उनीहरूको घरमा उनान्सय स्वर्णमुद्रा राखिदिएपछि त उनीहरूको यो हालत भएको हो नि । अहिले ऊ थप एक स्वर्णमुद्रा जम्मा गर्न दौडधुप गरिरहेको छ । सय पुगेपछि ऊ फेरि दुई सयको चक्करमा लाग्नेछ । अब उसले सुख पाउने दिन गए, बुझ्यौ ?

सुझावित समाचार