उदयपुर जिल्ला अदालतले दुई वर्षभन्दा पुराना मुद्दाको संख्या शून्यमा झारेको छ। अदालतको तहसिल शाखाले सार्वजनिक गरेको आर्थिक वर्ष २०८२/०८३ को तथ्यांकअनुसार दुई वर्ष नाघेका कुनै पनि मुद्दा बाँकी छैनन्। अघिल्लो आर्थिक वर्षमा पनि यस्तो संख्या शून्य थियो।
यस वर्ष जिल्ला अदालत उदयपुरमा १८ महिना नाघेका फर्छ्यौट हुन बाँकी मुद्दा ६ थान मात्र छन्। अदालतका अनुसार आर्थिक वर्ष २०८२/०८३ मा जिम्मेवारी सरी आएका ७६७ र नयाँ दर्तासमेत गरी जम्मा दुई हजार ४८७ मा एक हजार ६२९ मुद्दा फर्छ्यौट भएका छन्। जुन ६७.०२ प्रतिशत हो। गत वर्षको ८२० वटा मुद्दा मात्र बाँकी रहेको बताइएको छ।
जिल्ला न्यायाधीस मुकेश उपाध्यायले लक्ष्यको तुलनामा अदालतले १०२.३३ प्रतिशत प्रगति हासिल गरेको बताए। उनका अनुसार पुराना मुद्दा समयमै टुंग्याउने नीति प्रभावकारी बन्दै गएको छ। त्यसको परिणामस्वरूप दुई वर्षभन्दा पुराना कुनै पनि मुद्दा बाँकी छैनन्।
अघिल्लो आर्थिक वर्ष २०८१/०८२ मा २ हजार ३६२ वटा मुद्दामा १ हजार ५९५ वटा (६७.५२ प्रतिशत) फर्छ्यौट भएका थिए। जिल्ला न्यायाधीश उपाध्यायका अनुसार जिम्मेवारी सरी आएका समेत गरी फैसला कार्यान्वयनको निवेदनतर्फ फर्छ्यौट प्रगति ७२.०५ प्रतिशत छ। जसमा लगत ४६२ थियो। ३३५ मुद्दा फर्छ्यौट हुँदा १२७ बाँकी छ। उपाध्यका अनुसार ६ महिना नाघेका मुद्दाको संख्य ४८ वटा छ।
अदालतले कैद, जरिवाना र क्षतिपूर्ति असुलीतर्फ पनि कार्यान्वयनलाई निरन्तरता दिएको जनाएको छ। यद्यपि फरार प्रतिवादी, आर्थिक असुली र सम्बन्धित निकायसँगको समन्वयका कारण केही फैसला पूर्ण रूपमा कार्यान्वयन हुन समय लाग्ने गरेको छ।
उदयपुर जिल्ला अदालतको तहसिल शाखाका अनुसार कैदतर्फ लगत २७३९ वर्ष ११ महिना ६ दिनमा ४९२ वर्ष १४ दिन फर्छ्यौट भएको छ र बाँकी २२४७ वर्ष १० महिना २२ दिन रहेको छ। जसमा फर्छ्याैट प्रगति १८ प्रतिशत छ।
यसैगरी जरिवानातर्फ ४५ करोड ६९ लाख ४५ हजार ७९८ रुपैयाँ लगतमध्ये १८ करोड ७८ लाख ४८ हजार ४७४ रुपैयाँ फर्छ्यौट भएको छ। जसमा बाँकी २६ करोड ९० लाख ९७ हजार ३२४ छ। जरिवानतर्फ फछ्यौट प्रगति ४१.१ प्रतिशत रहेको अदालतले जानकारी दिएको छ।