बैतडीको पुर्चौडी नगरपालिकाको ढोल्यामोड–हाँट सडक खण्डमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ।
नगरपालिकाको वडा नं १ स्थित रातासिलामा भएको दुर्घटनामा ४४ वर्षीय ट्याक्टरचालक देवसिंह भण्डारीको ज्यान गएको प्रहरीले बताएको छ। पुर्चौडी–१ बुदडा घर भई हाल महेन्द्रनगर बस्दै आएका चालक भण्डारीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।
बिहीबार दिउँसो हाँटबाट ढोल्यामोड जाँदै गरेको सुपप्र ०२–००१ त १६०० नम्बरको ट्याक्टर सडकबाट अन्दाजी २०–२५ मिटर तल खसेको बैतडी प्रहरी प्रमुख दीपककुमार रायले बताए। उक्त ट्याक्टरमा अन्य कोही सवार नरहेको र दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको उनले बताए।