वडाध्यक्षसहित पाँचजनामाथि ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता

बिहिबार, ३२ असार, २०८३
डिजिटल संस्करण

महोत्तरीको बलवा नगरपालिका– ६ का वडाध्यक्ष वैद्यनाथ झासहित पाँचजनामाथि ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गरिएको छ । स्थानीय ३६ वर्षीय  इन्जिनियर हुसनैन अन्सारीलाई ज्यान लिने मनसायका साथ उनीमाथि आक्रमण गरी घाइते बनाएको जाहेरी प्रहरीले दर्ता गरेको हो। पीडितका तर्फबाट उनका दाजु ३९ वर्षीय  नुरैन अन्सारीले जिल्ला प्रहरी कार्यालय महोत्तरीमा जाहेरी दिएका हुन्। 

संघीय सहरी विकास तथा भवन निर्माण कार्यालय जनकपुरको बलवा बजारदेखि रौजा बजार हुँदै पडौंल हुलाकी सडक निर्माण आयोजना सञ्चालनमा रहेकोमा सोही आयोजनाको लिंक सडक ४१२ मिटर आरिसी ढलान भइरहेकोमा ढलान स्थल देवनमा विवाद सिर्जना हुँदा अन्सारी घाइते भएका हुन् । 

उनको हातको औँला काटिएको र शरीरका विभिन्न भागमा चोट लागेको बताउँदै परिवारले न्यायका लागि प्रहरी गुहार्दै जाहेरी दिएपछि प्रहरीले मुद्दा दर्ता गरेको हो। 

पीडित पक्षले वडाध्यक्ष झासहित सोही वडानिवासी ५६ वर्षीय  श्याम यादव, ३२ वर्षीय मञ्जेश यादव र वडा नं. ५ निवासी ४० वर्षीय  राजु यादव तथा ३५ वर्षीय  बलराम यादवलाई आरोपी बनाएको हो। जिल्ला प्रहरी कार्यालय महोत्तरीका एसपी श्यामकुमार सारू मगरले घटनामा मुद्दा दर्ता भई कानुनअनुसारको प्रक्रिया बढाइएको बताए ।

सुझावित समाचार