रोजगारीसँग नजोडिएका तालिम रोक्न श्रममन्त्रीको निर्देशन

बिहिबार, ३२ असार, २०८३
डिजिटल संस्करण

युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले रोजगारीको स्पष्ट सम्भावना नभएका सिपमूलक तालिम सञ्चालन नगर्न सम्बन्धित निकायलाई निर्देशन दिएका छन्। उनले तालिम कार्यक्रमलाई श्रमबजारको आवश्यकता र उत्पादनशील रोजगारीसँग प्रत्यक्ष रूपमा जोड्नुपर्नेमा जोड दिएका हुन्।

बिहीबार सिंहदरबारस्थित मन्त्रालयमा उद्योगी तथा व्यवसायीहरूसँग भएको छलफलमा मन्त्री यादवले श्रम मन्त्रालयबाट सञ्चालन हुने तालिमहरू प्रशिक्षार्थीलाई रोजगारीमा जोड्ने उद्देश्यका साथ सञ्चालन हुनुपर्ने बताए।

उनका अनुसार शिक्षा मन्त्रालय र प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी) को मुख्य जिम्मेवारी शिक्षा र प्राविधिक प्रशिक्षण प्रदान गर्नु भए पनि श्रम मन्त्रालयअन्तर्गतका तालिम कार्यक्रमको प्राथमिक लक्ष्य रोजगारी सिर्जना र श्रमबजारको मागअनुसार दक्ष जनशक्ति उत्पादन गर्नु हो।

मन्त्री यादवले विगतमा लागू गरिएका कार्यविधिमा निजी क्षेत्र तथा तालिम लिने व्यक्तिहरूको पर्याप्त सहभागिता र अपनत्व नहुँदा बजेट कार्यान्वयनमा चुनौती देखिएको उल्लेख गरे।

उनले रोजगारदाता, श्रमिक र सरकारबीचको सहकार्यमा नयाँ स्ट्यान्डर्ड अपरेटिङ प्रोसिड्योर (एसओपी) तयार गरी आगामी साउनभित्र कार्यान्वयनमा ल्याइने जानकारी दिए।

छलफलका क्रममा सरकारले श्रमिकको न्यूनतम पारिश्रमिक निर्धारण प्रक्रियालाई थप वैज्ञानिक, व्यावहारिक र श्रम बजारमैत्री बनाउने तयारी पनि अघि बढाएको मन्त्री यादवले बताए।

सुझावित समाचार